नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

डोनबास क्षेत्र छाडे युक्रेनलाई नेटो सदस्यता दिने प्रस्ताव अमेरिकाले गरेको जेलेन्स्कीको खुलासा

अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को सदस्यता दिने बदलामा पूर्वी क्षेत्र डोनबासबाट आफ्ना बाँकी सेना फिर्ता बोलाउन प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुलासा गर्नुभएको छ ।

रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप भइरहेका वार्ताका क्रममा अमेरिकी वार्ताकारहरूले पहिलोपटक यस्तो प्रस्ताव अघि सारेको जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि, अमेरिकाले यस्तो प्रस्ताव आधिकारिक रूपमा पुष्टि गरेको छैन ।

युक्रेनले लामो समयदेखि नेटोको सदस्य बन्ने चाहना राख्दै आएको छ । नेटो अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत देश सम्मिलित सैन्य गठबन्धन हो ।

यसको सदस्य बनेमा कुनै सदस्य राष्ट्रमाथि सैन्य आक्रमण हुँदा अन्य सदस्य राष्ट्रले पनि सामूहिक सुरक्षाका लागि सहयोग गर्ने व्यवस्था छ । डोनेट्स्क र लुहान्स्क गरी दुई मुख्य क्षेत्र समेटिएको डोनबास औद्योगिक तथा रणनीतिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

यसैबीच, अमेरिकी विशेष दूत कुश्नरले वार्ताका क्रममा भएका गोप्य छलफल सार्वजनिक नगर्न आग्रह गर्नुभएको छ । उहाँले युद्ध अन्त्यका लागि विभिन्न विकल्प र प्रस्तावमाथि छलफल भइरहेको उल्लेख गर्दै सार्वजनिक भएका केही विवरणलाई वार्ताको अन्तिम निष्कर्षका रूपमा लिन नहुने बताउनुभएको छ ।

रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने प्रयास भइरहे पनि दुवै पक्षबीच ठूलो मतभेद कायमै छ । 

प्रकाशित मिति:
थप विश्व