नेभिगेशन
आइतबार, कात्तिक २९, २०८३

भारत–पाकिस्तान तनावकाबीच पाकिस्तानी मन्त्री भारत भ्रमणमा जाने

पाकिस्तानले आउँदो हप्ता भारतको नयाँदिल्लीमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा सहभागी हुन एक मन्त्रीलाई पठाउने भएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले हिजो यसको पुष्टि गरेको एएफपीले जनाएको छ । गएको वर्ष भारत र पाकिस्तानबीच चार दिनसम्म सैन्य द्वन्द्व भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ ।

पाकिस्तानको विदेश मन्त्रालयका अनुसार जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले नोभेम्बर २० देखि २२ तारिखसम्म नयाँदिल्लीमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को ‘सभ्यता संवाद’ कार्यक्रममा पाकिस्तानको प्रतिनिधित्व गर्नुहुनेछ ।

यसअघि सन् २०२३ को मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाउनुभएको थियो । त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत भ्रमणमा जान लागेको यो पहिलोपटक हो ।

परमाणु हतियार सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि तनाव र अविश्वास रहँदै आएको छ । सन् २०२५ को मे महिनामा कश्मीरमा सशस्त्र बन्दुकधारीहरूले दुई दर्जनभन्दा बढी पर्यटकको हत्या गरेपछि भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण सैन्य द्वन्द्व भएको थियो।

मारिने पर्यटकमध्ये अधिकांश हिन्दु थिए । भारतले यो आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाए पनि पाकिस्तानले त्यसलाई अस्वीकार गरेको थियो ।

घटनापछि दुवै देशले एकअर्काविरुद्ध कूटनीतिक कदम चालेका थिए । त्यससँगै बढेको तनाव सैन्य द्वन्द्वमा परिणत हुँदा दुवै पक्षबाट क्षेप्यास्त्र, ड्रोन र तोपखानामार्फत आक्रमण तथा प्रत्याक्रमण भएको थियो । यो द्वन्द्वमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एससीओको ढाँचाभित्र रहेर आपसी सम्मानका आधारमा विभिन्न सभ्यताबीच संवाद प्रवर्द्धन गर्न र जनस्तरको सम्पर्क विस्तार गर्न पाकिस्तान प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।


 

प्रकाशित मिति:
थप विश्व