नेभिगेशन
सोमबार, कात्तिक ३०, २०८३

मध्यपूर्वमा एकैसाथ ३ अमेरिकी विमानवाहक युद्धपोत तैनाथ

अमेरिकाले मध्यपूर्वमा ‘यूएसएस थियोडोर रुजवेल्ट’ नामक अर्को विमानवाहक युद्धपोत तैनाथ गरेको छ । योसँगै मध्यपूर्वमा एकैसाथ तीन अमेरिकी विमानवाहक युद्धपोत तैनाथ भएका छन् ।

यस क्षेत्रमा अन्य दुई अमेरिकी विमानवाहक युद्धपोत – ‘यूएसएस जर्ज एच डब्ल्यू बुश’ र ‘यूएसएस जर्ज वाशिङ्गटन’ पहिले नै तैनाथ रहेका बीबीसीले जनाएकाे छ ।

यद्यपि यी तीन विमानवाहक युद्धपोत एकै समयमा उपस्थिति अस्थायी हुने सम्भावना छ । विमानवाहक युद्धपोतहरूले एउटा निश्चित व्यवस्थाअनुसार समय–समयमा विभिन्न क्षेत्रहरूमा आफ्नो तैनाथी ठाउँ परिवर्तन गरिरहन्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्टनबाट एशियाको कूटनीतिक भ्रमणका लागि प्रस्थान गर्नुभन्दा केही घण्टाअघि तेस्रो युद्धपोत मध्यपूर्वमा तैनाथ भएको हो । ट्रम्पको यस एशिया भ्रमणको अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता हुने कार्यक्रम छ ।

तीन वटा विमानवाहक युद्धपोत समूहको उपस्थिति मध्यपूर्वमा अमेरिकी नौसेनाको महत्त्वपूर्ण उपस्थिति हो । यस वर्षको शुरूमा अप्रिल महिनामा पनि यस्तै किसिमको तैनाथी गरिएको थियो; त्यस बेला सन् २००३ को इराक युद्धयता पहिलो पटक अमेरिकी विमानवाहक युद्धपोतका तीन वटा समूह यस क्षेत्रमा एकैसाथ तैनाथ गरिएका थिए ।

इरानसँगको युद्धमा ट्रम्पले आफ्ना आउँदो कदमहरूबारे विचार गरिरहेकै बेला पछिल्ला सैन्य गतिविधिहरू देखिएका छन् ।

इरान वा इरान समर्थित यमनको हुथीहरूले अमेरिकी संरचनाहरूमाथि नयाँ आक्रमण नगरेसम्म ट्रम्पले थप आक्रमणको आदेश दिने सम्भावना कम रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व