नेभिगेशन
मंगलबार, मंसिर १, २०८३

प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच आधा घण्टा एक्लाएक्लै वार्ता हुने

काठमाण्डौ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा आधा घण्टा एक्लाएक्लै वार्ता हुने भएको छ ।

प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही ६ गते आइतबार भारतको २ दिने भ्रमणमा दिल्ली जाँदै हुनुहुन्छ । यद्यपि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक निर्णय र घोषणा हुन अझै बाँकी छ ।

प्रारम्भिक भ्रमण तालिकाअनुसार उहाँ आइतबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत काठमाण्डौबाट नयाँदिल्ली जाने र भोलिपल्ट सोमबारसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेर त्यसै दिन काठमाण्डौ आइपुग्ने गरी तयारी भैरहेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् ।

भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि छलफलमा रहेका महत्वपूर्ण विषयहरु, हवाई रुट र आर्थिक प्याकेज प्राथमिकतामा रहेका छन् । मोदीसँग सोमबार बिहान हैदरावाद हाउसमा भेट हुनेछ ।

प्रधानमन्त्री शाहले गर्न लागेको भारत भ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । साथै उहाँको भारत भ्रमण यसअघिका प्रधानमन्त्रीको तुलनामा छोटो हुनेछ । यो भ्रमणअघि प्रमुख राजनीतिक दलहरुसँग छलफल गरी राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउनुपर्ने सुझाव विपक्षी दलका नेताहरुले दिएका छन् ।

कार्यकारी प्रमुखको भ्रमणमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनुका साथै विगतदेखि थाती रहेका सीमा समस्या, सन्धि–सम्झौता पुनरावलोकन, व्यापार, जलस्रोत र हवाई रुटका मुद्धालाई सम्बोधन गर्नुपर्नेमा विपक्षी नेताहरुको जोड छ ।

काँग्रेस संसदीय दलका नेता भीष्म आङ्देम्बेले दलहरुसँग छलफल गरी सुझाव लिएर भारतसँग वार्ता गर्दा फलदायी हुने बताउनुभएको छ ।

यस्तै एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताउनुभएको छ ।
 

प्रकाशित मिति:
थप राजनीति