नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुद मन्त्री पोखरेल

काठमाण्डौ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एशियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभयो । उहाँका अनुसार निलम्बन फुकुवासँगै फिफा र एएफसी एन्फाको तहगत चुनाव गराउन सहमत भएका छन् ।

चुनाव कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आउँदो डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ । मन्त्री पोखरेलले एन्फाको चुनाव पुरानै नेतृत्वबाट गर्ने वा अन्तरिम कमिटी बनाएर गर्ने भन्ने विषय भने टुङ्गिन बाँकी रहेको बताउनुभयो ।

सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई फिफाले सकारात्मक रूपमा लिएको उहाँको भनाइ छ ।

एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप खेलकुद