नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाण्डौ – कैलाली धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । रङ्गशालाको पूर्वाधार निर्माणका लागि सरकारले बोलपत्र (टेन्डर) आह्वान गरेको हो ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले बोलपत्रसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

बोलपत्र आह्वानसँगै लामो समयदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रारम्भिक प्रक्रिया अघि बढेको छ । यो आयोजना बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन हुनेछ ।

धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनार बोराडाडी क्षेत्रमा साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालासहित खेलग्राम निर्माण गर्ने सरकारको योजना छ ।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सुदूरपश्चिमका बासिन्दाको सपना तथा राष्ट्रिय महत्व बोकेको यो आयोजनालाई उच्च प्राथमिकताका साथ अघि बढाउँदै खेल पूर्वाधार विकास तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको उल्लेख गर्नुभएको छ ।

फाप्ला रङ्गशाला निर्माणपछि धनगढीलाई क्रिकेटको शहरका रूपमा स्थापित गर्ने र सुदूरपश्चिमको खेलकुद तथा आर्थिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । 

Bid-1795239236.jpg
 

प्रकाशित मिति:
थप खेलकुद