नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुन संशोधनको लागि आयोगको प्रस्ताव

काठमाण्डौ - निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र स्वदेशभित्रै अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कानुन संशोधनको प्रस्ताव अघि बढाएको छ । 

आयोगले विभिन्न विकल्पसहितको मस्यौदा गृह मन्त्रालयमा पठाएको हो । आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार, प्रस्तावमा विदेशमा रहेका नेपालीका लागि इन्टरनेटमा आधारित डिजिटल प्रणाली वा हुलाकमार्फत मतदान गर्न सकिने विकल्प सुझाइएको छ । 

सरकारले यीमध्ये कुनै एक विकल्प रोज्न सक्नेछ । तर, विदेशबाट मतदान गर्न सम्बन्धित देशको वैध भिसा अनिवार्य हुनुपर्ने प्रस्तावमा उल्लेख छ । यसका लागि मूल मतदाता नामावलीमा नाम भएका व्यक्तिले छुट्टै आवेदन दिएर बाह्य मतदाताको सूचीमा दर्ता हुनुपर्नेछ । 

यस्तै, स्वदेशभित्रै एक जिल्लाका मतदाताले अर्को जिल्लाबाट मतदान गर्न पाउने व्यवस्थासमेत प्रस्ताव गरिएको छ । यसैबीच, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आयोगको प्रस्तावमाथि सरकारले आवश्यक निर्णय गरी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । 

सर्वोच्च अदालतले २०७४ सालमै विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएकाले आउँदो चुनावबाटै यसलाई कार्यान्वयन गर्ने आयोगको तयारी छ । 

प्रकाशित मिति:
थप राजनीति