नेभिगेशन
शनिबार, मंसिर ५, २०८३

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि

काठमाण्डौ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भोलिदेखि शुरु हुने भारत भ्रमणअघि राजनीतिक दल र विषय विज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । 

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति निकालेर विदेश भ्रमणअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले निरन्तरता नदिएको आरोप लगाउनुभएको हो । 

यद्यपि, कांग्रेसले भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपालको सर्वोत्तम राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । कांग्रेसले व्यापार, ऊर्जा, हवाई सम्पर्क, पर्यटन, जलवायु परिवर्तन, सीमा व्यवस्थापन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायतका विषयमा सरकारलाई रचनात्मक सुझाव दिन गएको बुधबार विषय विज्ञहरूसँग आन्तरिक विमर्शसमेत गरेको थियो । 

तर, सरकारले परामर्श गर्न आवश्यक नठानेपछि पार्टीले औपचारिक सुझाव अघि सार्न उचित नठानेको शर्माले बताउनुभएको छ । प्रधानमन्त्री कुनै एक दलको मात्र नभई सिङ्गो देशको प्रतिनिधित्व गर्दै भारत जान लाग्नुभएको स्मरण गराउँदै कांग्रेसले भ्रमणलाई क्षणिक लोकप्रियता र प्रचारमा मात्र सीमित नराख्न सुझाव दिएको छ । 

विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्ने कांग्रेसको ठहर छ । 

साथै, भ्रमणको सफलता औपचारिक स्वागत वा घोषणाबाट नभई नेपाली नागरिकले प्राप्त गर्ने ठोस परिणामबाट मापन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ
 

प्रकाशित मिति:
थप राजनीति