नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

घातक स्वायत्त हतियार नियमन गर्न संयुक्त राष्ट्रसङ्घका १ सय २८ सदस्य राष्ट्र सहमत

घातक स्वायत्त हतियार अर्थात् कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित ‘किलर रोबोट’ को प्रयोगलाई नियमन गर्ने गरी अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका एक सय २८ सदस्य राष्ट्र सहमत भएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा पाँच दिनसम्म चलेको लामो वार्तापछि, आउँदो दुई वर्षभित्र यससम्बन्धी अन्तर्राष्ट्रिय कानूनी खाका तथा व्यवस्था तयार पार्ने प्रक्रिया अघि बढाउने सहमति जुटेको समाचारसंस्था एएफपीले जनाएको छ ।

तर, स्वायत्त हतियारविरुद्ध अभियान चलाइरहेका अन्तर्राष्ट्रिय संस्थाहरूले भने यो सहमतिलाई अपर्याप्त भएको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार एआईबाट चल्ने यस्ता हतियारहरूले युद्धको मैदानमा मानव जीवन र मृत्युसम्बन्धी संवेदनशील निर्णयहरू आफैँ गर्न सक्ने भएकाले यसले गम्भीर मानवीय जोखिम निम्त्याउन सक्छ ।

त्यसैले, यसमा केवल नियम विस्तारभन्दा पनि पूर्ण रूपमा कानूनी रूपले बाध्यकारी नियम आवश्यक रहेको अभियानकर्मीहरूको जोड छ ।यसअघि अमेरिका र रुसलगायत सैन्य प्रविधिमा अग्रणी मानिने केही देशहरू कडा प्रतिबन्धको पक्षमा नरहेका कारण यस विषयमा विश्वमञ्चमा सहमति जुटाउन लामो समयदेखि कठिनाई हुँदै आएको थियो ।

‘स्टप किलर रोबोट्स’ अभियानकी कार्यकारी निर्देशक निकोल भ्यान रुइजेनले प्रभावकारी कानूनी व्यवस्था निर्माणमा ढिलाइ हुँदा यसले विश्वभरका सर्वसाधारणलाई गम्भीर जोखिममा पार्न सक्ने चेतावनी दिनुभएको छ । 
 

प्रकाशित मिति:
थप विश्व