नेभिगेशन
आइतबार, मंसिर ६, २०८३

सरकारले एनपीएलका ८ वटै टोलीका लागि फ्लडलाइटसहित क्रिकेट रङ्गशाला निर्माण गर्ने

काठमाण्डौ –  सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै टोलीका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ ।

यसका लागि अबको तीन महिनाभित्र प्रकृया अघि बढाउने प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।

उहाँले तेस्रो संस्करणको एनपीएल उपाधि विजेता सुदूरपश्चिमलाई बधाईसहित एनपीएलको छैठौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने र सबै क्लबका लागि आफ्नै क्रिकेट रङ्गशाला निर्माण गरिने जानकारी दिनुभएको हो ।

विराटनगर किङ्गसका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाण्डौ गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गरिनेछ ।

प्रधानमन्त्री शाहले धनगढीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अघि बढिसकेको र अन्य रङ्गशालाको निर्माण प्रक्रिया पनि अबका तीन महिनाभित्र शुरु गरिने बताउनुभएको छ ।

क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको शाहले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री शाहकाअनुसार यी रङ्गशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछन् ।     

प्रकाशित मिति:
थप खेलकुद