नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

१०औँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडीमा पाँच नयाँ राष्ट्रिय कीर्तिमान

काठमाण्डौ – १०औँ राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगिताको तेस्रो दिन हिजो पाँच नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।

१२ स्वर्णसहित बागमती प्रदेशले आफ्नो अग्रता कायमै राखेको छ । पुरुषतर्फ बागमती प्रदेशका अभिभ प्रधानले दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कोशी प्रदेशका विकास कुमालले पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा दुई मिनेट ३४ दशमलव ३६ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । पुरुष ४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशको टोलीले तीन मिनेट ४५ दशमलव ७५ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्यो ।

पदक तालिकामा बागमती १२ स्वर्ण, सात रजत र सात कांस्यसहित २६ पदक जितेर पहिलो स्थानमा छ । एनआरएनए नौ स्वर्ण, तीन रजत र तीन कांस्यसहित दोस्रो स्थानमा रहँदा नेपाल आर्मी ६ स्वर्ण, १० रजत र १३ कांस्यसहित तेस्रो स्थानमा छ ।

यस्तै, नेपाल पुलिस क्लब चार स्वर्ण, ११ रजत र १२ कांस्यसहित चौथो स्थानमा छ । महिलातर्फ नेपाल आर्मीकी डुआना लामाले १०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितिन् । महिला ४ गुणा २०० मिटर फ्रिस्टायल रिले तथा ४ गुणा ५० मिटर मिडले रिलेमा पनि आर्मीले स्वर्ण पदक हात पार्‍यो ।

एनआरएनएकी लिली बोहोराले महिला २०० मिटर इन्डिभिजुअल मिडले र मिखा काया थापाले ५० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जिते । प्रतियोगिता अन्तर्गत हिजो पुरुष क्रिकेट तर्फ त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ ।

कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हरायो । गण्डकी प्रदेशलाई हराउँदै वाग्मती प्रदेश महिला क्रिकेटमा सेमिफाइनल प्रवेश गरेको छ । महिला क्रिकेटमा मधेसले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हरायो ।

फुटबलमा कर्णालीलाई गण्डकी प्रदेशले ५–० हराएको छ । योसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति:
थप खेलकुद