नेभिगेशन
शुक्रबार, मंसिर ११, २०८३

नेपाल–भारत सीमा समस्या संयुक्त भिजन डकुमेन्टमा समावेश

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमासम्बन्धी बाँकी समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेन्टमा समावेश गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आज भएको पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मत–सम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाउनुभएको क्षेत्रीले जानकारी दिनुभयो । उहाँले सीमासम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताउनुभयो ।

स्थापित सीमा संयन्त्रहरूमार्फत कूटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास सरकारले व्यक्त गरेको छ ।

ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गर्नुभएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति