नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग

काठमाण्डौ – भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् ।

बास र लाजपुर्जाको टुंगो लागेपछि मात्रै होल्डिङ सेन्टर छोड्ने उनीहरुको अडान छ । जिल्ला प्रशासनले होल्डिङ सेन्टर खाली गर्न हिजो दिउँसो २ बजेसम्मको समयसीमा सकिँदा पनि विस्थापित परिवार बाहिरिएका छैनन् ।

प्रशासनले हिजो बिहानैदेखि होल्डिङ सेन्टरमा खाना र पानीको व्यवस्था रोकेपछि विस्थापित परिवारले थाल ठटाएर विरोध जनाएका थिए । होल्डिङ सेन्टरमा रहेका १९ परिवारमध्ये सात परिवारको अन्यत्र जग्गा भेटिएको भक्तपुर प्रशासनले जनाएको छ ।

तीमध्ये चार परिवार आफ्नो जग्गा भएको जिल्लामा गइसकेका छन् । १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धताअनुसार भूस्वामित्वसहितको आवास, भत्काइएका घरटहराको क्षतिपूर्ति र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न पनि विस्थापितहरुको माग छ ।

गएको वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका नदी किनारका बस्तीमा डोजर चलाएको थियो । त्यसपछि विस्थापित भएका परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

त्यसबेला सरकारले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाए पनि ८ महिना बितिसक्दा पनि पुनःस्थापनाको टुंगो लागेको छैन । 

प्रकाशित मिति:
थप समाज