नेभिगेशन
शनिबार, मंसिर १२, २०८३

भक्तपुरको बोडेमा रहेको सुकुम्वासी होल्डिङ सेन्टरमा प्रशासनले खाना सहितका सुविधा रोक्यो

काठमाण्डौ - भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्वासी परिवारहरू सडकमै खान खान बाध्य भएका छन् । स्थानीय प्रशासनले होल्डिङ सेन्टरमा खाना तथा पानीको आपूर्ति पूर्ण रूपमा रोकेपछि त्यहाँ बस्दै आएका विस्थापितहरू सडकमै बसेर खाना खान बाध्य भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले होल्डिङ सेन्टर खाली गराउने हिजोसम्मको अल्टिमेटम दिएका थियो । तर सेन्टर खाली नभएपछि प्रशासनले सेवा सुविधा कटौती गर्ने रणनीति अपनाएको हो । खाना र पानी नपाएर विस्थापितहरू भोकै परेपछि नवयुवा अभियन्ताहरू रक्षा बम र माजिद अन्सारीसहितको समूह आज खान लिएर गएको थियो । तर प्रशासनले भित्र खाना लैजान नदिएपछि उनीहरूले विस्थापितलाई बाहिर सडकमै खान खुवाएका हुन् ।

होल्डिङ सेन्टर बाहिर सडकमै दाताले दिएको खाना वा चाउचाउ–चिउरा खाएर आफ्नो भोक मेटाउन बाध्य विस्थापितहरूले रित्तो थाल ठटाउँदै सरकारको निर्णयविरुद्ध प्रदर्शनसमेत गरेका छन् । बास र लालपुर्जाको टुङ्गो नलागेसम्म सेन्टर नछोड्ने विस्थापितहरूको अडान छ ।

काठमाण्डौ उपत्यकाका नदी किनारबाट हटाइएका १९ परिवारका ५९ जना पछिल्लो आठ महिनादेखि बोडेको सेन्टरमा बस्दै आएका छन् ।  

प्रकाशित मिति:
थप समाज