नेभिगेशन
आइतबार, मंसिर १३, २०८३

दशौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेश तालिकाको शीर्ष स्थानमा कायमै

काठमाण्डौ – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँचौँ दिन सम्मको पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रतालाई कायम राखेको छ ।

हिजोसम्म बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कांस्य गरी कुल ४५ पदक जितेको छ । बागमती तालिकाको शीर्ष स्थानमा छ ।

स्वर्ण पदकको सङ्ख्याका आधारमा गैरआवासीय नेपाली संघ (एनआरएनए) १२ स्वर्णसहित दोस्रो स्थानमा रहेको छ । त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कांस्य गरी सर्वाधिक ५० पदक जित्दै तेस्रो स्थान ओगटेको छ ।

त्यस्तै, नेपाल प्रहरीले ८ स्वर्णसहित चौथो स्थानमा रहँदा गण्डकी र कोशी प्रदेशले समान ४ स्वर्ण जितेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) ले ३ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशले समान २ स्वर्ण जितेका छन् ।

मधेश प्रदेशले २ कांस्य पदक जितेको छ । प्रतियोगितामा सहभागी ११ टोलीमध्ये १० टोलीले पदक जित्दा आयोजक कर्णाली प्रदेश भने पाँचौँ दिनसम्म पदकविहीन छ ।

यस्तै पुरुष फुटबलमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । बराबरीसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

महिला क्रिकेटमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश रनरेटका आधारमा सेमिफाइनलमा पुगेको छ । यसअघि नै आर्मी, नेपाल प्रहरी र बागमतीले अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका थिए ।

पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । विभिन्न खेलका प्रतियोगिता मंसिर ८ गतेदेखि शुरु भए पनि औपचारिक उद्घाटन यही मंसिर १६ गते हुने कार्यक्रम छ ।

प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने तय भएको छ । 

प्रकाशित मिति:
थप खेलकुद