नेभिगेशन

'पीपीई' भित्र लुकेकी ऊ

कविता

मैले उसको र उसले मेरो
अनुहार नदेखेको एक वर्ष भयो
एक वर्षअघि देखेको उसको अनुहार 
मेरो आँखै अघि घुमिरहेको छ
उसले पनि मेरो झुसे अनुहार 
झलझली सम्झिरहेकी होली
याद छ मलाई
मैले पहिलो पटक
उसलाई लिपिस्टिक गिफ्ट दिएको
आज पनि उसको ओठमा
पक्कै रातै रङको लिपिस्टिक हुनुपर्छ
उसको आँखाको गाजल दुरुस्त उस्तै हुनुपर्छ ।

ऊ हरदिन पीपीईमा गुम्सिन्छे
अनि कहिलेकाहीँ निसासिन्छे 
अचेल उसको मन बिथोलिएको छ
सँगै निद्रा र भोक खोसिएको छ 
अचेल उसको फोन पनि आउँदैन
यताबाट गर्दा पनि हत्तपत्त उठ्दैन
उसले फेसबुक र इन्स्टामा 
फोटो र स्टोरी नराखेको
महिनौँ भइसक्यो 
एक वर्षअघि
रेस्टुरेन्टमा खाएको कफीको स्वाद 
जिब्रोले पनि बिर्सिसक्यो 
अचेल ऊ छुट्टीमा बसेको पनि थाहा छैन
रातदिन बिरामीको उपचारमा खटिन्छे
कहिले ऊ खानै बिर्सिन्छे
बिरामीको स्याहारमा अहोरात्र खटिन्छे 
र त घर जानै बिर्सिन्छे
उसले घरमा खाना नखाएको
कति दिन भइसकेछ 
आमाले आफ्नै रेसिपीमा पकाएको
परिकारको स्वाद उसले बिर्सिसकिछ ।

कसैले उसलाई 
पीपीईभित्र लुकेकी देवी भन्दा रहेछन्
अनि कसैले भगवान् पनि भन्दा रहेछन्
उसलाई सधैँ हँसमुख देख्दा
आधा रोग त्यसै कम हुन्छ रे
कहिले अनायासै उसको आँखा रसाउँदा 
आँखामा धुलो पस्यो भन्छे रे
अनि दगुर्दै बाथरुम पुग्छे रे 
रोएर मन हलुका भएपछि फर्किन्छे रे
उसलाई थाहा छ 
उसको अनुहार मलिन हुँदा
बिरामी झन् आत्तिन्छन्
अनि बिस्तारै
औषधिले पनि काम गर्न छाड्छ
रोगले शरीरलाई जित्छ भनेर ।

कतिले भन्दा रहेछन्
बिरामीको स्याहार गर्नु उसको काम हो
भोकभोकै र अनिद्रा बस्नु उसलाई आराम हो
मान्छे यति निर्दयी कसरी बन्न सक्छ रु
के मान्छे यस्तो पनि भन्न सक्छ रु
ऊ पनि थाक्दी हो
आराम दिनुपर्छ
भोक उसलाई पनि लाग्छ
खान दिनुपर्छ ।

हो, मैले चाहिँ बुझेको छु
'पीपीई' भित्र लुकेकी ऊ ।

प्रकाशित मिति:
थप कला