Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अङ्क ५०३

कार्यक्रम देश परदेशकाे  ५०३ अंक विदेशमा आफन्तको शव सदगत गर्दा सक्कल कागजात नआउँदा सरकारबाट पाउनुपर्ने राहत पाउन खेप्नुपरेकाे झमेलाकाे विषयमा केन्द्रित छ । कार्यक्रममा कोरोनाको कारण श्रीमानको बहराइनमा ज्यान गएपछि शव मात्र होइन, कम्पनीले कागजात समेत नपठाउदा वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायताबाट बन्चित भएकी झापा बुद्धशान्तिकी सजिना मादेनको गुनासो समेटेका छाैँ । यस्तै  कम्पनीले शव र पासपोर्ट दुवै नपठाए पनि फोटो कपीका आधारमा सरकारी राहात पाएका नवलपरासीको समसुल होडा गुजरको परिवारको अनुभव पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । कम्पनीले नै सक्कल कागजात नपठाएका परदेशीका परिवारले बोर्डबाट आर्थिक सहायता लिन के गर्ने त भन्ने बारे वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठसँगकाे कुराकानी र विदेशका कम्पनीबाट कागजात लगायत श्रमिकको सरसामान स्वदेश झिकाउनका साथै कन्सुलर सेवा विभागले प्रदान गर्ने सेवाबारे विभागका महानिर्देशक धनबहादुर वलीले दिएको जानकारी पनि कार्यक्रममा  समेटिएकाे छ । साथमा हप्ताभरिका रोजगार गतिविधि त छँदैछन् ।