शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना शुरु

 चैत १५, २०८० बिहिबार १३:३१:७ | रासस
unn.prixa.net

फाइल तस्बिर

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पक्षी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेको हो । निकुञ्ज, सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइड एशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ ।

निकुञ्जभित्रका शुक्लाफाँट, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा 'स्वीप' विधिको प्रयोग गरी खरमयुर गणना शुरु गरेको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । ‘निकुञ्जसँगै जोडिएको किसान मध्यवर्ती सामुदायिक वनभित्र पनि गणना हुन्छ’, उहाँले भन्नुभयो, ‘खरमयुर गणनाका लागि छनोट गरिएका घाँसे मैदानलाई छ वटा 'ब्लक' मा विभाजन गरी १० दिनसम्म गणना गरिनेछ ।’

विगतमा खरमयुर पाइएका क्षेत्रलाई आधार मानेर गणनाका लागि ठाउँ छनोट गरेकाे जानकारी दिँदै संरक्षण अधिकृत ऐरले 'स्वीप' विधिअन्तर्गत मानवसाङ्लो बनाएर गणना गरिने बताउनुभयो । ‘जेडएसएल नामक संस्थाको सहयोगमा 'क्यामेरा ट्र्यापिङ' का माध्यमबाट पनि १५ दिनसम्म गणना गरिने छ’, उहाँले भन्नुभयो, ‘यसका लागि निश्चित दूरीमा स्वचालित क्यामेरा जडान हुनेछ ।’

मयुर गणना हुने ठाउँमा 'टावर प्वाइन्ट' राखेर क्यामेरा, टेलिस्कोप, वाइनाकुलरको सहायताले खरमयुरको सङ्ख्या यकिन गरिने नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो । उहाँका अनुसार मार्च महिनाको अन्तिम हप्तादेखि अप्रिल महिनाको पहिलो हप्तासम्म प्रत्येक वर्ष सङ्घले निकुञ्जसँग सहकार्य गरी खरमयुर गणनाको गर्दै आएको छ । घाँसेमैदानमा घाँस छोटो हुने भएकाले यस बेला खरमयुर देखापर्ने गर्दछन् । खरमयुरको प्रजनन समय भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताउनुभयो । ‘खरमयुरको प्रजनन समय साँझ–बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ’, उहाँले भन्नुभयो ।

‘नेपाल–भारत, भियतनाम र कम्बोडियामा गरी दुई सय ५० देखि नौ सयसम्मकाे सङ्ख्यामा खरमजुर पाइने गर्दछ’, उहाँले भन्नुभयो, ‘यो अतिसङ्कटापन्न प्रजातिका रूपमा रहेको छ, संरक्षणका लागि भरपर्दो काम नगरे आउँदाे केही दशकमा यी लोप हुने अवस्था छ ।’

खरमयुरको बासस्थान भनेकै घाँसेमैदान हो । अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रतिवर्ष हुने आगलागीले खरमजुरको बासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै चराविज्ञ डगाैराले गणनाका क्रममा बासस्थानको अवस्था, आहाराको अवस्थालगायतबारे अध्ययनको गरिने बताउनुभयो ।

खरमयुर  शुक्लाफाँटा, चितवन, बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् । नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङख्यामा खरमयुर रहेका अनुमान छ । संरक्षण अधिकृत ऐरका अनुसार गएकाे वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटामात्रै खरमयुर फेला परेका थिए ।

त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए । सबैभन्दा बढी कोसीटप्पु वन्यजन्तु आरक्षमा २२ वटा खरमयुर फेला परेका थिए । ‘वर्षाका बेला घाँसेमैदानमा पानी भरिने भएकाले निकुञ्ज नजिकैका उकासका क्षेत्रमा खरमयुर बस्ने गर्छन्’, अधिकृत ऐरले भन्नुभयो, ‘वर्षायाम सकिएपछि पुनः घाँसेमैदानमै फर्कने गर्छन् ।’

खरमयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन् । खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खरमयुर भनिएको हाे । खरमयुरसँगै निकुञ्जमा चार सय ५४ वटा प्रजातिका चरा पाइन्छन् । खरमयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित पक्षीका रूपमा सूचीकृत गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया