आफ्नो दूतावासमा आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोड्यो

 चैत २४, २०८० शनिबार १८:१५:७ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इक्वेडरमा रहेको आफ्नो दूतावासमा आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगको सम्बन्ध तोडेको छ । इक्वेडरका पूर्व उपराष्ट्रपति जोर्गे ग्लास त्यहाँको मेक्सिकन दूतावासमा शरण लिएर बसेका थिए । ग्लासलाई पक्राउ गर्न इक्वेडरको प्रहरीले मेक्सिकोको दूतावासभित्र प्रवेश गरेर आक्रमण गरेको थियो ।

आफ्नो दूतावासभित्र प्रवेश गरेर सबै अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेको र देशको सार्वभौमसत्तामाथि नै आक्रमण गरेको भन्दै मेक्सिकोले इक्वेडरसँगका सबै सम्बन्ध तोडेको घोषणा गरेको बीबीसीले जनाएको छ ।

गएको डिसेम्बरमा इक्वेडरले भ्रष्टाचारको आरोपमा पूर्व उपराष्ट्रपति ग्लासविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि ग्लासले मेक्सिकोको दूतावासमा शरण लिएका थिए । ग्लास २०१३ देखि २०१७ सम्म इक्वेडरको उपराष्ट्रपतिको रुपमा कार्यरत थिए । भ्रष्टाचारको आरोप बढ्दै गएपछि उनलाई पदबाट हटाइएको थियो । यस्तै उनले ब्राजिलको निर्माण कम्पनी ओडेब्रेच्टमा साढे १३ मिलियन डलर भ्रष्टाचार गरेको भन्दै छ वर्षको जेल सजाय सुनाइएको थियो ।

गएको नोभेम्बरमा ग्लास जेलबाट रिहा भएपनि इक्वेडोरका अधिकारीले भ्रष्टाचारको थप आरोप लगाउँदै अर्को पक्राउ आदेश जारी गरेपछि ग्लास मेक्सिकन दूतावासमा शरण लिन पुगेका थिए । तर इक्वेडरले भने ग्लासलाई पक्राउ गर्न भन्दै दूतावासमै आक्रमण गरेको छ ।

मेक्सिकोले अन्तर्राष्ट्रिय कानुनअनुसार ग्लासलाई राजनीतिक शरण दिएको अवस्थामा इक्वेडरले अवैध रुपमा आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । तर इक्वेडरका राष्ट्रपतिले भने आफ्नो देश एक स्वतन्त्र र सार्वभौम देश भएकाले कुनै पनि अपराधीलाई लुकाउन अनुमति नदिइने बताउनुभएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया