काेशीमा सत्ताकाे किचलाे, नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

 बैशाख २६, २०८१ बुधबार १८:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कोशी प्रदेशमा सत्ताको किचलो अझै बढ्ने देखिएको छ । आज नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् ।

आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानकाे विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानकाे सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाखमा विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गर्नुभएको थियो ।

अधिवेशनले सङ्कल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन गए रातिसम्मको समय सीमा दिएको थियो । तर तोकिएको समयमा विश्वासको कार्कीले मत नलिएकाले अब नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादीले प्रदेश प्रमुखसँग माग गरेका छन् ।

कोशी प्रदेशमा सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जिकिर गरेका छन् । मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू नियुक्त भएकाले दोस्रो पटक विश्वासको मत लिनुनपर्ने दाबी गर्दै आउनुभएको छ । दुवै पक्षको कुरा सुनेपछि प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुनअनुसार अघि बढ्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया