१० घरधुरी मात्रै रहेको जोर्ने बजार

 माघ १९, २०७५ शनिबार १२:४३:० | श्यामशितल परियार
unn.prixa.net

उच्च ठाउँ, चिसो हावापानी । नजिकै देखिने घना जंगल । अनि मनमोहक हिमाल । कच्ची सडकको दायाँबायाँ निला र सादा जस्ताले छाईएका घर । सानै भएपनि रमाईलो छ, लमजुङको दूधपोखरी गाउँपालिका–५, मा रहेको निकै पुरानो जोर्ने बजार । 

जोर्ने बजारमा जम्मा १० घरधुरी मात्रै रहेको छ । सबै घरधुरीले व्यापार गरेका छन् । सबैको जिउने आधार व्यापार नै हो ।

जोर्नेमा ७ घरले होटल चलाएका छन् । एउटा फेन्सी पसल छ । २ वटा किराना पसल रहेको छ । दोर्दी गाउँपालिकाको सिमरुङ, कैँचे, फ्रुङ्चो र दूधपोखरी गाउँपालिकाकै चाक्चे, स्वर्गवास, भाङ्श्वारा लगायतका ठाउँको व्यापारिक केन्द्र हो, जोर्ने बजार । 

व्यापारबाटै आएको कमाईले सबै घुरधुरीले आफ्नो जीवन चलाएको जोर्नेमा विगत १२ वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएकी गंगा गुरुङले बताउनुभयो ।
‘खासै खेतीपाती गरिदैँन । जोर्नेका सबैले व्यापार गर्छन् । जीवन चलाउने आधार नै व्यापार हो’, उहाँले भन्नुभयो । गाउँमा रहेको सानो बजार भए पनि दिनहुँ मानिसको चहलपहल हुने उहाँले बताउनुभयो । 

‘दूधपोखरी यही बाटो भएर जानुपर्छ । धेरै गाउँबाट किनमेलका लागि मानिस जोर्नेसम्म आउँछन् । व्यापार पनि राम्रै हुन्छ । त्यसकै भरमा स्थानीयबासिन्दाको गुजारा चलिरहेको छ’, गंगाले सुनाउनुभयो । 

जोर्नेमै सञ्चालन गरेको होटलबाट राम्रो आम्दानी भएपछि विदेश जान छोडेर गाउँमै व्यवसाय सञ्चालन गरी बसेको ईशजंग गुरुङले बताउनुभयो । गुरुङका अनुसार गाउँकै सडक भएर दिनहुँ १२ वटा सानो जीप ओहोर–दोहार गर्छन् । गौँडासम्म ३ वटा बस नै चल्छन् । 

गाउँमा बिजुली छ । कच्ची भए पनि सडक छ । ‘बजारमा मानिसको चहपहल बढ्दो छ । त्यसैले पनि सार्वजनिक शौचालयको आवश्यकता छ,’ उहाँले भन्नुभयो । 
सिंगो दूधपोखरी गाउँपालिकाको समृद्धिको आधार नै कृषि, जडीबुटी र ग्रामीण पर्यटनको विकास रहेकाले यी पक्षको विकासमा दूधपोखरी गाउँपालिका अघि बढिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव खनालले बताउनुभयो ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया