११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवक पक्राउ

 फागुन ७, २०७५ मंगलबार १६:३१:३६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा ११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

गएकाे फागुन २ गते बिहान धनुषाको मिथिला नगरपालिका-३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैकाे उखुबारीमा फेला परेको थियो ।

बालिकालाई हत्या गरी शव जलाएको आरोपमा प्रहरीले धनुषाको बटेश्वर गाउँपालिका-४ बस्ने २२ वर्षका निरज जर्घा मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हाे । फागुन १ गते राति बालिका दुतिया, मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलका ईन्द्रथापा मगरकी छोरी मन्दिरा थापाको बिहे भोज खान गएकी थिइन् ।

बिहेभोजमा नाचगान सकिएर सबैजना घरतिर गइसकेका थिए ।  मामाघरमै भोजमा सहभागी भएका निरज भने मदिरा, गाँजा तथा लागु पदार्थ सेवन गरी लठ्ठ थिए । उनले नजिकैको पसलबाट चाउचाउ, फ्रुटी  किनेर ल्याए र दुतियालाई दिए । काेही नभएकाे माैका पारेर  दुतियालाई फकाइ घर नजिकैकाे उखुबारीमा लगेर उनले दुतियालाई बलात्कार गरेपछि अनि आफ्नो पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

हत्यापछि उनले प्रमाण नष्ट गर्न खेतमा रहेको उखुको पात बालिकाको जिउमा राखेर जलाएकाे तथ्य अनुसन्धानबाट पत्ता लागेकाे धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।

उहाँका अनुसार निरज बालिकालाई जलाइसकेपछि विवाहमा फर्केकाे र बिहान गाउँलेसँगै उनी पनि बालिकाको शव हेर्न गएका थिए । पछि आफू पक्रिने डरले गाउँबाट भागेर लुकेर बसेका उनी भारत जान लागेका क्रममा धनुषाको विदेह नगरपालिका-२ दहबीबाट फागुन ६ गते सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

अभियुक्त निरज यसअघि पनि विभिन्न चोरी घटनामा संलग्न र केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरले कारबाही चलाएको र सार्वजनिक अपराधमा काठमाण्डाैको कालिमाटी प्रहरी वृत्तको साथै तीन महिना केन्द्रीय कारागारमा जेल सजायसमेत भुक्तान गरिसकेकाे पाइएकाे प्रहरीकाे भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया