संखुवासभामा पहिलो पटक अलैंची जोन कार्यक्रम लागू

 बैशाख १५, २०७६ आइतबार २१:२:२८ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा- पूर्वी पहाडी जिल्ला संखुवासभामा पहिलो पटक अलैँची जोन कार्यक्रम लागू भएको छ । जिल्लाको १० स्थानीय तहमा नै अलैँची जोन कार्यक्रम लागू भएको हो । १० स्थानीय तहका ३२ वटा वडामा अलैँची जोन कार्यक्रम लागू भएको अलैँची जोन परियोजना इकाइ प्रमुख तथा कृषि विकास अधिकृत प्रविन लामाले बताउनुभयो ।

उहाँका अनुसार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानहरुको माग अनुरुप नै कार्यक्रम लागू भएको हाे । अलैँची खेती विस्तार गर्दै कृषकले उत्पादन गरेको अलैँचीको गुणस्तर कायम गर्न ग्रेडिङ्ग प्रणालीको लागू, बजार व्यवस्थापन र भण्डारण गर्ने मुख्य लक्ष्यका साथ अलैँची जोन कार्यक्रमको सुरुवात गरिएको अलैँची जोन परियोजना इकाइ प्रमुख लामाको भनाइ छ ।

‘विभागबाट नै साना सिँचाइ, भकारो सुधार र कृषकहरुलाई अन्तर जिल्ला भ्रमणलगायतका विभिन्न कार्यक्रम आएका छन् । कतिपय कार्यक्रमहरु विभागबाट नै तोकिएर आएको हुन्छ । कतिपय कार्यक्रम सञ्चालक समितिले किसानको माग अनुसार मागमा आधारित कार्यक्रम बनाएर विभागमा पठाउने र विभागबाट स्वीकृत भएर आएपछि लागू हुन्छ,’ इकाइ प्रमुख लामाले भन्नुभयो ।
    
यो वर्ष संखुवासभा जिल्लामा अलैँची जोन कार्यक्रम अन्तर्गत १ करोड ११ लाख ५२ हजार रुपैयाँ बजेट आएको लामाले जानकारी दिनुभयो । जोन क्षेत्र लागू भएपनि कार्यक्रमहरु सञ्चालन गर्न कर्मचारी अभाव हुँदा समस्या भइरहेको उहाँले बताउनुभयो । जिल्लामा ३ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । 

जोन कार्यक्रम लागू भएका स्थानीय तह र वडा

अलैँची उत्पादन हुने मुख्य क्षेत्र चिचिला, मकालु, भोटखोला, सिलिचोङ र सभापोखरी गाउँपालिका तथा खाँदबारी, चैनपुर, पाँचखपन, धर्मदेवी र मादी नगरपालिकालाई पकेट क्षेत्र मानिएको छ । 

चिचिला र मकालु गाउँपालिकाको पाँचवटै वडा अलैँची जोनमा परेको छ भने धर्मदेवीको १ र २, मादीको १, ७, ८ र ९ चैनपुरको १, २ र ४, पाँचखपनको १ र ९ खाँदबारीको ३, ४ र ११, सभापोखरीको २, ३, ४, ५ र ६ सिलिचोङको ५, भोटखोलाको ४ नम्बर गरी ३२ वडामा अलैँची जोन कार्यक्रम प्रमुख लामाले जानकारी दिनुभयो । 

उहाँका अनुसार, गत वर्ष संखुवासभामा तीन सय मेट्रिक टन अलैँची उत्पादन भएको थियो । तीन वर्षअघि मात्र प्रतिमन (४० के.जी.को एकमन) एक लाख १० हजार रुपैयाँसम्म बिक्री भएको अलैँचीको मूल्य यो वर्ष प्रतिमन २७ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अलैँचीको मूल्यमा आएको भारी गिरावट र अलैँचीमा लाग्ने रोगले गर्दा किसान मारमा पर्ने गरेका छन् । अलैंचीको मूल्यमा गिरावाट आउनुको मुख्य कारण गुणस्तर भएकाले यसको गुणस्तर वृद्धि गर्न लागि पर्ने इकाइ प्रमुख लामाको भनाइ छ । 

नेपालका पाँच जिल्लामा अलैँची जोन कार्यक्रम

अलैँचीलाई किसानहरुले राम्रो आम्दानी गर्ने नगदेबालीको रुपमा लिने गरिन्छ । अलैँची धेरै किसानहरुको जीविकार्जनको माध्यम समेत बनेको छ । पछिल्लो समय अलैँचीमा छिर्के, फुर्के र गानो कुहिनेलगायतका विभिन्न रोगहरु देखा पर्न थाले पछि अलैँचीको बजार घटेको छ । यसैलाई मध्यनजर गरेर कृषि मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत पहिलो पटक लमजुङ जिल्लामा अलैँची जोन कार्यक्रम लागू भएको थियो । 

त्यसपछि पूर्वी क्षेत्रमा पाँचथर जिल्लामा गत वर्ष अलैँची जोन कार्यक्रम लागु भयो । र यो वर्ष संखुवासभालगायत भोजपुर र ताप्लेजुङ्गमा पनि अलैँची जोन कार्यक्रम लागू भएको इकाइ प्रमुख लामाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया