रुम्जाटार विमानस्थलमा जहाज लिएर पुगेका सांसदलाई स्वागत

 जेठ १७, २०७६ शुक्रबार १९:४४:४९ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – लामो समयदेखि बन्द रहेको रुम्जाटार विमानस्थल फेरि सञ्चालनमा आएको छ ।

सिद्धिचरण नगरपालिका-४, मा रहेको याे विमानस्थलमा विमान लिएर पुग्नुभएका सांसदहरुलाई स्थानीयबासीले फूलमालासहित स्वागत गरेका छन् ।

नेपाल एअरलाइन्सको नाइन एन एबीटी कल साइनको विमानमा सांसदहरु रुम्जाटार आउनुभएको थियो । रुम्जाटार विमानस्थलमा विमान पुगेको खुसियालीमा स्थानीयले संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङलगायतलाई शुक्रबार बिहान विमानस्थलमा फूलमालाले स्वागत गरेका हुन् । 

हरेक शुक्रबार काठमाण्डौ–रुम्जाटार–विराटनगर उडान भर्ने तालिका तयार पारेको विमान लिएर पुग्नुभएका सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । लामो प्रयासपछि एअरलाइन्सले रम्जाटारमा उडान तालिका तय गरेको उहाँले बताउनुभयो ।  

कालोपत्रे नहुँदा पनि नियमित उडान हुने गरेको रुम्जाटार विमानस्थल कालोपत्रे भएको दुई वर्ष नबित्दै ०७२ सालबाट बन्द भएको थियो । रुम्जाटारमा उडान बन्द भएपछि आकस्मिक रुपमा राजधानी यात्रा गर्ने र अस्पतालबाट रिफर गरिएका बिरामीले हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता थियो । 

त्पहाँसम्म पुग्ने भरपर्दो सडक नभएको र उडान ढिला भइरहने भएकाले सर्वसाधारण कठिन सडक मार्ग हुँदै संघीय काठमाण्डौ र प्रदेश राजधानी विराटनगरको यात्रा गर्न बाध्य थिए । 

रुम्जाटारमा उडान बन्द भएपछि सबैजसो राजनीतिक दलका नेताहरुले नियमित उडान गराउने चुनावी एजेण्डा बनाए पनि कार्यान्वयन हुन सकेको थिएन । ओखलढुंगा भ्रमणमा आउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विमानस्थलका बारेमा चासो लिनुभएको थियो ।

हालै रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले यस विमानस्थलको निरीक्षण गरेर उडान नियमित गराउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

सबै पक्षको सहयोगमा उडान तालिका तयार गरेर विमानस्थल फेरि सञ्चालन गराउने काम भएको सांसद सुनुवारले बताउनुभयो । 

रुम्जाटार विमानस्थलबाट प्रत्येक हप्ताको शुक्रबार बिहान ८ बजेदेखि रुम्जाटार–काठमाण्डौ उडान गर्ने तालिका रहेको र प्रतियात्रु ३ हजार ६ सय ३० रुपैयाँ सरकारी भाडादर कायम गरिएको रुम्जाटार विमानस्थल प्रमुख केदार सत्यालले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया