भवन बन्यो, हस्तान्तरण भएन : कैदीबन्दी कोचिएर बस्न बाध्य

 जेठ ३०, २०७६ बिहिबार १६:३२:३० | उषा तामाङ
unn.prixa.net

दोलखा – जिल्ला कारागार दोलखा परिसरमा बनेको नयाँ भवन हस्तान्तरण नुहँदा कैदीबन्दी कोचिएर बस्न बाध्य भएका छन् ।

भवन निर्माण सम्पन्न भए पनि निर्माण व्यवसायीलाई भुक्तानी दिएर मात्रै भवन हस्तान्तरण गर्ने शहरी विकास तथा भवन निर्माण विभागले सोच बनाएपछि यस्तो समस्या आएको हो । 

कारागार निर्माण गर्ने जिम्मा लिएको खाम्पासे निर्माण सेवालाई अन्तिम भुक्तानी दिने प्रक्रियामा विभाग रहेको र भुक्तानीपछि मात्रै भवन हस्तान्तरण हुने विभागका इञ्जिनियर तुल्सी खर्बुजाले जानकारी दिनुभयो ।   

कारागारको भवन निर्माण हुँदा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धुलिखेल र त्यसपश्चात चरिकोट कार्यालयले प्राविधिक सहयोग गरेको थियो । चरिकोटको कार्यालय खारेजीसँगै भुक्तानीका लागि आवश्यक पर्ने कागजात जुटाउन समय लागेको बताइएको छ । निर्माण व्यवसायीलाई अन्तिम भुक्तानीपश्चात यसै आर्थिक वर्षभित्र भवन हस्तान्तरण हुने इञ्जिनियर खर्बुजाले दाबी गर्नुभयो । 

यता दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निर्माण सम्पन्न भएको भवन हस्ताण्तरण गर्न ताकेता गरिरहेको बताउनुभयो । भवन हस्तान्तरण नहुँदा क्षमताभन्दा झण्डै ६ गुणा बढी कैदीबन्दी र थुनुवा कोचिएर बस्न बाध्य छन् । हाल सञ्चालनमा रहेको कारागार भवनको क्षमता १७ जनाको भए पनि अहिले ९२ जना कैदीबन्दी र थुनुवा जिल्ला कारागार दोलखामा छन् ।

दिनप्रतिदिन कैदीबन्दी र थुनुवाको संख्या बढ्दै जाँदा उनीहरुलाई राख्न समस्या भएको कारागार प्रमुख प्रकाश नेपालले जानकारी दिनुभयो । नवनिर्मित भवन हस्तान्तरण भए यस्तो समस्याको समाधान हुने उहाँको भनाइ छ । 

नेपाल सरकारको ६४ लाखको लागतमा २०६८ सालमा शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनी खाम्पासे निर्माण सेवाबीच २०७१ सा भित्र कारागारको भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । 

तर नयाँ भवन निर्माण गर्ने स्थानमा रहेका पुराना संरचना हटाउन समय लागेको, भूकम्प र नाकाबन्दीले असर गरेको भन्दै विभागले निर्माण व्यवसायीलाई २०७५ चैत्र मसान्त सम्मको म्याद थप गरेको थियो । भवन हस्ताण्तरणमा तदारुकता नदेखाउँदा कैदीबन्दी र थुनुवा प्रत्यक्ष मारमा परेका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया