घर निर्माण सूचीमा नाम नभएकाे भन्दै बाराका हावाहुरी पीडित आन्दोलित

 जेठ ३२, २०७६ शनिबार १५:५२:२२ | जयनारायण यादव
unn.prixa.net

बारा - हावाहुरीले घरबारविहीन बाराको प्रसौनी गाउँपालिका–४ खुटवा जब्दीका ८१ घरपरिवार आन्दोलित भएका छन्।

सरकारले घर निर्माण गर्ने सूचीमा आफूहरुको नाम नसमेटेको भन्दै आन्दोलित भएका उनीहरुले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् । हावाहुरी पीडित महिला पुरुषहरुले शनिबार खुटवा जब्दीमा क्चाे जुलुस प्रदर्शन गर्दै वडाध्यक्ष र गाउँपालिका अध्यक्षको पुतला समेत जलाएका छन् ।

फरक राजनीतिक आस्था भएका कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले ८१ पीडितहरुको नाम घर निर्माणको सूचीमा सिफारिस नगरेको स्थानीय ललिता देवी साहले आरोप लगाउनु भयो। स्थानीय भोला साह, मायाशंकर ठाकुर, निरंजन साह, महन्थ ठाकुर, रामबाबु साहलगायत ८१ घर परिवार अझै पाल र भत्केको घरमा नै बसिरहेका छन् ।

सुरुमा सूची तयार गर्दा एक सय ५७ जनाको नाम पूर्ण क्षति भएको सूचीमा उल्लेख भइ गृह मन्त्रालयबाट आएकोमा अहिले नेपाली सेनाले घर निर्माण गर्ने बेला ८१ जनाको नाम हटाइएको खुटवा जब्दीका पीडित नुरुलहोदाले गुनासो गर्नुभयो। आफूहरुले खुल्ला आकाशमुनी खाना बनाउँदा पनि राज्यले देख्न नसकेकोमा आक्रोश व्यक्त गर्दै पीडित ललिता देवी साहले भन्नुभयो, ‘हुरीले पीडा दियो, राज्यले समेत पीडा बुझेन ।’

प्रसौनी गाउँपालिकाका नेकपा नेता विनोद जैसवारले राजनीतिक आस्थाको कारण वडाध्यक्ष र गाउँपालिका अध्यक्षले हावाहुरी पीडितहरुको नाम घर निर्माण सूचीमा समावेश नगरेको आरोप लगाउनुभयो । उहाँले राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी बाहेकका पार्टिमा आस्था राख्ने पीडितहरुको नाम घर निर्माणको सूचीबाट हटाइएको आरोप लगाउनुभयो।

वडाध्यक्ष र गाउँपालिका अध्यक्ष राष्ट्रिय जनता पार्टीबाट निर्वा्चित भएका हुन। वडाध्यक्ष आनन्द गुप्ताले हावाहुरी पीडित केही व्यक्तिको नाम घर निर्माणको सूचीबाट हटाइएको स्वीकार गर्दै त्यसको जिम्मेवार आफू नभएको बताउनु भयो । उहाँले पीडितहरुको नाम जिल्ला प्रशासन कार्यालयले सूचीबाट हटाएको बताउनु भयो। 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया