कर्णाली प्रदेशको बजेटमा सत्तारुढ सांसदकै असन्तुष्टि, प्रदेश सभा बैठक स्थगित

 असार ५, २०७६ बिहिबार १७:३०:५८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६-०७७ का लागि ल्याएको बजेटमा सत्तापक्षकै सांसदहरुले असन्तुष्टि जनाएपछि बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाद्वारा असार १ गते संसदमा प्रस्तुत बजेटमाथि बिहीबार छलफलका लागि संसद बैठक बोलाइएको थियो । तर छलफलमा सत्तापक्षका सांसदहरुले विरोध गर्ने संकेत पाएपछि बैठक नै स्थगित गरिएको हो ।

असन्तुष्ट सांसदहरुलाई सहमतिमा ल्याउन र बैठक सञ्चालन गर्नका लागि आज नै कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बोलाइएको थियो । तर सहमति जट्न नसकेपछि असार ८ गते सम्मका लागि संसद बैठक  स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बजेटको विषयमा थप छलफल गर्ने भन्दै सांसदहरुले बैठक स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको जानकारी दिनुभयो । 

प्रदेश सभा सदस्य ठम्मर बिष्टले बजेट वितरणमुखि र असन्तुलित भएकाले बस्तुगत र वैज्ञानिक हुनुपर्ने बताउनुभयो । प्रदेश सरकारले ल्याएको बजेट जनतामुखिभन्दा पनि सरकारकेन्द्रित भएको उहाँको भनाइ छ ।

बजेट जनतामा आधारित र निर्वाचन क्षेत्रमा आधारित र ठिक ढंगले कार्यान्वयन गरिने गरी ल्याइनुपर्ने भन्दै सरकारसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।  प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब २५ करोड ३४ लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । 

यता प्रतिपक्षका सांसदहरुले भने बिनाकारण संसद स्थगित गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सत्ता पक्षबाट नै संसद अवरुद्ध गर्नु संघीयतालाई नै असफल गराउने काम भएको उहाँले आरोप लगाउनुभयो ।

‘हामीले बैठक स्थगित गर्ने कुरामा हामीले कार्य व्यवस्था परामर्श समिति बैठक अस्वीकार गरेका थियौँ । तर सत्ता पक्षबाट नै संघीयता असफल गराउने षड्यन्त्र भइरहेको छ’, उहाँले भन्नुभयो, ‘यो प्रदेश र देशका लागि गलत काम भएको छ ।’
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया