दोलखामा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप

 असार १४, २०७६ शनिबार १६:३२:१९ | उषा तामाङ
unn.prixa.net

दोलखा – मेलुङ गाउँपालिकाको पवटि, वैत्यश्वर गाउँपालिकाको काब्रेलगायत क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । 

झण्डै एक सातादेखि सुरु भएको संक्रमणले अहिले प्रकोपको रुप लिएको र दिनप्रतिदिन फैलिरहेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले जनाएको छ । 

मकैबालीमा किराको संक्रमण फैलिएको जानकारी पाएपछि पहाडी बाली अनुसन्धान कार्यक्रमका संयोजक नारायण बहादुर धामी, वैज्ञानिक सुक बहादुर गुरुङ र प्राविधिक अधिकृत मनोज कँडेलको टोलीले गएको असार १० गते दोलखाको पवटि र काब्रे क्षेत्रमा स्थलगत सर्वेक्षण गरेको थियो । 

सर्वेक्षणका क्रममा फेला परेको किरा अमेरिकी महादेशमा उत्पत्ति भएको फौजी किरा रहेको किट विज्ञान महाशाखा खुमलटारले प्रमाणित गरेको छ । अमेरिकी फौजी किरा मकैबालीमा लाग्ने पुतली समूह अन्तर्गत पर्ने रातमा सक्रिय हुने किरा हो । 

उपयुक्त खाना तथा बासस्थानको खोजीमा फौजी किराको वयस्क पुतली सय किलोमिटर टाढासम्म उडेर जान सक्ने भएकोले यसको समयमै नियन्त्रण गर्न नसके यसले धेरै क्षति पुर्‍याउने पहाडी बाली अनुसन्धान कार्यक्रम काव्रे दोलखाका कार्यक्रम संयोजक नारायण बहादुर धामीले जानकारी दिनुभयो । 

यो किराकाे प्रजातिले धानचमरा नपलाएको कलिलो मकैलाई नष्ट गर्छ । मकैको पात, गुभो, जुँगा तथा घोगामा समेत क्षति पुर्‍याउँछ । 

संक्रमण फैलन नदिन तथा क्षतिबाट बच्नको लागि क्लोरानट्रानिलिप्रोल १८ दशमलव ५ प्रतिशतको झोल ० दशमलव ४ मिलिलिटर एक लिटर पानीमा मिसाएर गुबोमा पर्ने गरी छर्नुपर्दछ । त्यसैगरि स्पाइनोस्याड ४५ प्रतिशतको शून्य दशमलव ३ मिलिलिटर झोल एक लिटर पानीमा मिसाएर गुबोमा पर्नेगरी छर्नुपदर्छ ।

यी दुवै प्रकारका विषादी आलोपालो गरी छर्न र घोगा लागिसकेपछि विषादी प्रयोग नगर्न पहाडी बाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सुक बहादुर गुरुङको सुझाव छ । 

अमेरिकी फौजी किराको प्रकोप देखिएको स्थानका किसानले क्लोरानट्रानिलिप्रोल र स्पाइनोस्याड विषादी प्रयोग गर्न अथवा नजिकैको कृषि कार्यालयमा खबर गर्न पहाडी बाली अनुसन्धान कार्यक्रमले किसानलाई सुझाव दिएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Hari Kumar Shrestha

    June 30, 2019, 6:56 a.m.

    कीराको लार्भाको बाहिरी आकृति, वनावट, रंग हेर्दा खतरनाक फौजी कीरा (फल आमीवर्म) सँग मिल्दोजुल्दो देखिन्छ । तर यो हो वा हैन भन्ने कुरामा कसैले पनि निक्र्यौल गर्न सकेको छैन । पहिला पहिला संकलन गरेको कीराको नमूना परीक्षणको नतिजामा विज्ञहरु बीचनै मतभेद पाइन्छ । कृषि अनुसन्धान परिषदको कीट विज्ञान महाशाखाबाट त पहिलानै यो कीरा फल आमीवर्म नै हो भनिसकेका छन् । तर त्यसको एकीनको लागि प्लान्ट क्वारेन्टिन तथा बाली व्यववस्थापन केन्द्र (पीक्युपीएमसी), हरिहरभवनको आधिकारिक धारणा आउनुपर्ने देखिन्छ । यसको लागि किसान तथा कृषि कर्मीहरु गत बैशाख महिनादेखि प्रतिक्षारत छन् । कीरा लागेको ठाउँमा मकै प्राय ध्वस्त नै छ । यस बारेमा सम्बन्धित निकायले निकै नै चासोका साथ अध्ययन अनुसन्धान गरी तथ्यपरक नतिजाको आधारमा कीराको पहिचान गरी उक्त कीरा के हो भनेर निक्र्यौल गर्न जरुरी छ । यसको अलावा, त्यसको नियन्त्रण विधिको बारेमा कृषिकर्मीहरुलाई सुसूचित गराउन नितान्त जरुरी छ । खतरनाक फौजी कीरा हो हैन भनेर पहिचानको लागि कृपया यो बृत्तचित्र (https://www.youtube.com/watch?v=xDbg3tijxiA) अन्त्यसम्म हेर्नुहोला । यसबाट पनि केही जानकारी पाइन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया