विश्वकप क्रिकेटमा समूह चरणको खेल सकियो, यस्तो छ सेमिफाइनल समीकरण

 असार २२, २०७६ आइतबार १०:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत समूह चरणका सबै खेल सकिएका छन् । समूह चरणको खेल सकिएसँगै आइतबार र साेमबार रेस्ट दिइएको छ ।

सबैले समूह चरणमा ९ वटा प्रतिस्पर्धा गर्दा भारत शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाउँदा अस्ट्रेलिया दोस्रो, घरेलु टोली इंग्ल्याण्ड तेस्रो र भाग्यमानी बन्दै न्यूजिल्याण्ड चौथो भएर सेमिफाइनलमा पुगे । न्यूजिल्याण्डलाई भाग्यमानी यस कारण भनिएको हो की पाकिस्तान र न्यूजिल्याण्डको समान ११–११ अंक भएपनि रनरेटमा अघि रहँदै सेमिफाइनलमा न्यूजिल्याण्ड पुगेको हो ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा पुग्ने चौथो टिमसँग प्रतिस्पर्धा गर्ने नियमका कारण भारतले प्रतिद्वन्द्वी न्यूजिल्याण्ड पाएको हो । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र इंग्ल्याण्ड आमने सामने हुने छन् । शनिबार रातिको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दा दक्षिण अफ्रिकासँग अस्ट्रेलिया पराजित भएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । भारतले समूह चरणमा १ मा मात्रै पराजयको स्वाद चाख्दा अस्ट्रेलियाले २ खेलमा पराजय ब्यहोरोको छ ।

भारतले सुरुदेखि नै सेमिफाइनलमा अस्ट्रेलिया र घरेलु टोली इंग्ल्याण्डको सामना गर्न नपरे हुन्थ्यो जसरी प्रस्तुत भएको थियो । अहिले भारतले भनेजस्तै समीकरण भएको छ । भारत र न्यूजिल्याण्ड समूह चरणमा प्रतिस्पर्धा गर्नु पर्नेमा यो खेल वर्षाले प्रभावित भएपछि रद्द भएको थियो । जसले गर्दा भारत र न्यूजिल्याण्ड यो विश्वकपमा पहिलो पटक खेल्दैछन् । यस्तै विश्वकपको इतिहासमा भारत र न्यूजिल्याण्डले सेमिफाइनलमा खेल्न लागेको पनि पहिलो पटक हो  ।

यस्तै ११ तारिखमा हुने सेमिफाइनलमा भिड्ने टिम अस्ट्रेलिया र इंग्ल्याण्डले ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा  प्रतिस्पर्धा गर्दैछन् । १९७५ को विश्वकपको सेमिफाइनलमा यी दुई टिम भिड्दा अस्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।

अस्ट्रेलियाको यो आठौं सेमिफाइनल हो । उसले यसअघि भएका सात वटै सेमिफाइनल जितेर फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको थियो । यस्तै इंग्ल्याण्ड भने छ पटक सेमिफाइनल पुग्दै छ । उसले खेलेका पछिल्ला ५ सेमिफाइनलमा ३ मा जित र २ मा हार ब्यहोरको छ । इंग्ल्याण्ड १९९२ को विश्वकप पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो । क्रिकेटको उत्पत्ति इंग्ल्याण्डबाटै भएपनि उसले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न पाएको छैन् । ३ पटक फाइनल खेल्दा पनि सँधै उप विजेतामा सीमित भएको छ ।

विश्वकपको उपाधि २ पटका उचालि सकेको भारतको यो सातौं सेमिफाइनल यात्रा हो । अहिलेसम्म खेलेका ६ सेमिफाइनलमा उसले तीनमा जित निकाल्दै फाइनल पुग्दा ३ मा पराजित हुँदै घर फर्किएको थियो । १९८३ र २०११ को च्याम्पियन भारतले २००३ को फाइनलमा पराजित भएको थियो ।

न्यूजिल्याण्डले ८ पटक सेमिफाइनलमा स्थान बनाएको छ । तर उसले सेमिफाइनलबाट फाइनल भने एक पटक मात्रै यात्रा तय गर्न सफल भयो । २०१५ को विश्वकपमा फाइनल पुगे पनि अस्ट्रेलियासँग पराजित हुँदै उप विजेतामै सीमित भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया