सुदूरपश्चिमका मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

 बैशाख २०, २०८१ बिहिबार ९:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि शुक्रवार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि भोलि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

भोलि बेलुकी ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । गएको वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता हुनुहुन्छ । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री हुनुहुन्छ । मुख्यमन्त्रीले प्रदेशसभामा प्रतिनिधित्व गरेको नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिसक्नुभएको छ ।

मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास, उद्योग, पर्यटन वन तथा वातावरण र आर्थिक मामिला मन्त्रालय आफैसँग राख्नुभएको छ । सत्ता समीकरण फेरिएसँगै प्रदेशको मुख्यमन्त्रीमा नियुक्त सोडारीलाई एमालेले तत्काल बाहिर बसेर समर्थन गरी सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख समेत ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपचुनावपछि एमालेको एक सदस्य थप भई ११ पुगेको छ । नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया