पहिरोले नदी थुनिने खतरा

 असार २७, २०७६ शुक्रबार ९:२२:१५ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा  – बाजुराबाट बग्ने बुढीगंगा नदी आसपासमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको छ । वर्षासँगै नदीमा पानीको बहाव बढ्दै जाँदा र त्रिवेणी नगरपालिका ९ पैमा गाउँ तलबाट पहिरो खस्न थालेपछि नदी थुनिने खतरा बढेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाजुराको पैमा बुढीगंगा नगरपालिकाको गुइगाडको पहिरोले बुढीगंगा नदी थुनिन सक्छ, त्यसको डर नदी आसपासमा रहेका अछामको बुढाबगर र साँफेको बस्तीमा जोखिम बढेको छ ।’

पहिरोले बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुवैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । गएको वर्षदेखि नै यो ठाउँमा पहिरो खस्न थालेको हो । हिउँदको समयमा सुख्खा पहिरो बगे पनि त्यसले खासै असर गरेको थिएन । वर्षातमा नदीमा पानीको बहाव बढ्ने भएपछि द्वाबारीमा रहेको नदी थुनिने खतरा बढेको छ ।

लगातार पहिरोसँगै ठूला ढुंगा नदीको बीचभागमा जम्मा हुन थालेपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताउनुभयो । नदी थुनिने जोखिम बढेपछि स्थानीयबासिन्दालाई समेत सचेत गराइएको उहाँको भनाइ छ ।

गएको वर्षदेखि नदीबुढीगंगा नगरपालिकातिरको छेउतिर बगिरहेको छ । नदी एक छेउबाट बग्न थालेपछि बुढीगंगा नगरपालिका–१ अम्कोटको तल्लो भागबाट पहिरो जान थालेको स्थानीय नवीन थापाले बताउनुभयो ।

लगातार पहिरो जान थालेपछि त्रिवेणी नगरपालिका ९ पैमा र बुढीगंगा नगरपालिका १ अमकोटका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ‘गाउँको छेउबाटै रातभर गड्याङगुडुङ आवाज आउँछ, निद्रै लाग्दैन’ स्थानीय भानुभक्त पाध्यायले भन्नुभयो, ‘यहाँ जतिबेला जे पनि हुन सक्छ ।’

त्रिवेणी नगरपालिका–९ पैमाको छेउबाट लगातार आएको पहिरोले गएको वर्ष तीन महिनासम्म साँफे– मार्तडी सडक पूर्णरुपमा बन्द भएको थियो । पहिरोले बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने झोलुंगे पुल, दुवैैतर्फको खेतीयोग्य जमिन अघिल्लो वर्ष नै बगाइसकेको छ । बाँकी रहेको जमिन कटान हुन सुरु भएको त्रिवेणी नगरपालिकाका नरी रावलले बताउनुभयो ।

लगातार पहिरो जाने हो भने बुढीगंगा नगरपालिकाकाको क्षेत्रमा रहेको साँफे मार्तडी सडकखण्ड, अम्कोटको बस्ती, ताँप्री सेरा, सेरा, फालासेनको तल्लो भाग, बार्जुगाडको तल्लो भाग लगायतका थुप्रै खेतीयोग्य जमिन बग्ने सम्भावना छ । त्यस्तै, त्रिबेणी नगरपालिकाको–९ को पैमा गाउँ विस्तापित हुने खतरा बढेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया