यसरी लिइयो मान्छे मार्ने बाघ नियन्त्रणमा (फोटो फिचर)

 भदौ ९, २०७६ सोमबार ११:४८:५७ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँमा आएर मान्छे मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ ।  

बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खाने पानी ट्याङ्की टोलमा आइतबार बिहान एक वृद्धलाई मार्ने पाटे बाघ निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको हो ।

बाघलाई ‘डार्टगन’ (लठ्याउने सुइ) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।

आइतबार बिहान घर नजिक रहेको बंगुरलाई चारा दिन गएका बेला बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघले ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका ७० वर्षीय पहरिया थारुलाई आक्रमण गरेर मारेको बाघलाई सोमबार बिहान साढे ८ बजे नियन्त्रणमा लिइएको हो ।

अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खडकाको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डार्टगन सुटर रामराज चौधरीसहितको टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुकादेखिको ठूलो मेहनतपछि मात्र बाघ समातिएको खड्काले बताउनुभयो ।

जुन ठाउँमा आइतबार बिहान वृद्धलाई आक्रमण गरेर मारेको थियो त्यही क्षेत्रको झण्डै २ सय मिटरको दुरीमा बाघलाई डार्टगन (लठ्याउने सुइ) प्रहार गरी नियन्त्रणमा लिइएको हो ।

चार वटा हात्तीको प्रयोग गरेर आइतबार दिउँसोदेखिको प्रयासमा ‘डार्टगन’को सहायताले बेहोस बनाएर बाघ समातिएको हो । बाघलाई बर्दिया राष्टिय निकुञ्ज मुख्यालय ठाकुरद्धाराको खोरमा ल्याएर राखिएको छ । 

मान्छे मारेको पाटे बाघ बिहानैदेखि सोही क्षेत्र आसपासमा बसिरहेको थियो । बाघले थप घटना नदोहोर्‍याओस् भनेर बर्दिया राष्ट्रिय निकुञ्जले निकुञ्ज सुरक्षार्थ नेपाली सेना, निकुञ्ज कर्मचारी र प्रहरी खटाएर राखेको थियो ।

मान्छे मार्ने बाघ नियन्त्रणमा नआउँदासम्म भुरिगाउँ बजार क्षेत्रका स्थानियवासी त्रसित थिए । बाघ नियन्त्रणमा आएपछि स्थानियवासीमा त्रास हटेको छ ।

गएको बिहीबार गेरुवा गाउँपालिका–४ मा एक महिलालाई मार्ने बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया