बेपत्ता पारिएका आफन्तकाे अवस्थाबारे जानकारी दिन सरकारसँग माग

 भदौ १३, २०७६ शुक्रबार २०:२८:४९ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – दश वर्षे सशस्त्र द्वन्द्वको उद्गम जिल्ला रोल्पाका बेपत्ता पारिएका व्यक्तिका परिवारहरुले आफ्ना सदस्यको अवस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।

शान्ति प्रक्रिया सुरु भएको १३ वर्ष बितिसक्दा पनि सरकारले बेपत्ता पारिएका आफन्तहरुको बारेमा खोजबिन गर्न बेवास्ता गरेको भन्दै पीडितहरुले गुनासो गरेका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि बेपत्ता छानबिन आयोग गठन भए पनि अहिलेसम्म आयोगले उजुरी लिने बाहेक कुनै काम गर्न नसकेकोमा आफूहरु निराश बनेको पीडितहरुले बताएका छन् । 

सरकारले आफ्ना बेपत्ता आफन्तको बारेमा तत्काल छानबिन गरी उनीहरुको अवस्थाबारे जानकारी दिनुपर्ने द्वन्द्वपीडित मेघमाली बुढाले बताउनुभयो । ‘अहिले पनि छोरा फर्केर आउछ कि भन्ने आश लाग्छ’, उहाँले भन्नुभयो । २०५९ सालमा कोटगाउँस्थित घरबाट लिबाङ आउँदै गर्दा सेनाले बेपत्ता पारेको छोराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नपाएको उनको गुनासो छ । ‘धेरै पटक फाराम (उजुरी) भरियो’, उहाँले भन्नुभयो, ‘तर अहिलेसम्म कतैबाट सुनुवाइ भएन’ ।

रोल्पा जिल्लामा सशस्त्र द्वन्द्वको समयमा १ सय १९ जना व्यक्ति बेपत्ता पारिएको भन्दै आफन्तहरुले खोजबिनका लागि बेपत्ता छानबिन आयोगमा उजुरी दिएका छन् । आयोग गठन भए पनि आयोगले पीडितहरुको उजुरी लिने बाहेक कुनै काम गर्न नसक्नु दुखद विषय रहेको मानवअधिकारकर्मी घनश्याम आचार्यले बताउनुभयो ।

विस्तृत शान्ति सम्झौतामै बेपत्ता पारिएका व्यक्तिको बारेमा पीडित परिवारलाई न्याय दिलाउनु भनिएकाले छिटोभन्दा छिटो सरकारले उनीहरुको अवस्था सार्वजनिक गर्नुपर्ने आचार्यको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया