नेता कार्यकर्तालाई का‌ंग्रेस नेतृत्वकाे आग्रह : आउँदाे चुनावमा कम्युनिष्ट सरकार ढाल्ने गरी अघि बढ्नुहाेस्

 असोज ११, २०७६ शनिबार १२:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दाबी गर्नु भएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, नागरिकलाई दशैँमा सामान किनमेल गर्न समेत नसक्ने गरी महँगी बढाउने काम सरकारले गरेको  भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

बडादशैँको अवसर पारेर पार्टीले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भइरहेको दाबी पनि गर्नुभयो ।

‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ’, सभापति देउवाको दाबी थियो, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महँगी सरकारले बढाएको छ कि जनताले दशैंँ खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले प्रजातन्त्र विरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी पनि दिनुभयो । उहाँले पार्टीभित्रको अन्तरघातकै कारण चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी चुनावमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली कांग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको  दाबी गर्दै सभापति देउवाले आउँदो चुनावमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताउनुभयो ।

कांग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिनुभयो । नेपाललाई कम्बोडियामा जस्तो तानाशाही व्यवस्था ल्याउन सरकारले खोजिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने पनि उहाँको चेतावनी छ ।

नेता थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार काठमाण्डौमा कम्युनिष्ट पार्टी मात्रै नेपालमा रहने दिने अभिव्यक्ति दिएकोमा आपत्ति जनाउँदै सिंहको गर्जनका साथ कम्युनिष्ट पार्टी आए काँग्रेसले शिकारीको रुप धारण गरेर परास्त गर्ने दृढता पनि व्यक्त गर्नुभयो ।

नेता थापाले सरकारले लोकतन्त्र विरोधी गतिविधिलाई अघि बढाएकाले त्यसको विरोध गर्नु परेको पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया