दशैँकाे महाष्टमी पर्व : महाकाली महालक्ष्मी र महासरस्वतीकाे विशेष पूजाआजा गरेर मनाइँदै

विभिन्न शक्तिपीठहरूमा पशुबलीसहित पूजाआजा गरिँदै

 असोज १९, २०७६ आइतबार ६:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बडाशैँको आठौँ दिन महाअष्टमी पर्व आइतबार (आज) दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । 

आजको दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । 

आज दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बली दिइ दुर्गा भवानीको विशेष पूजा गर्ने चलन छ । दशैँको अवसरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । 

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाइ पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने उहाँले बताउनुभयो । 

पशुबली नचढाउनेहरुले भने अष्टमीको दिन पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाइ पूजाआजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलीसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

यस दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायतका मन्दिरहरुमा बलीसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि घुइँचो लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चाेककाे चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ । 

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी पूजाआजा गरिन्छ । यी साधनलाई पनि देवीको शस्त्र–अस्त्रका रुपमा मानेर पूजा गर्ने गरिएको हो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया