टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो

 कात्तिक ५, २०७६ मंगलबार ६:४१:२० | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो । 

यसअघि ११० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपिएस ४ हजार २०० रुपैयाँ रहेकामा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दरप्रति एमबीपीएस रु २ हजार ५०० मात्र कायम गरिएको कम्पनीले सोमबार एक विज्ञप्तिमार्फत जनाएको छ । 

यसैगरी पहिले ११ देखि १०० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस चार हजार रुपैयाँमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३०० रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस मात्र २ हजार १०० रुपैयाँमा उपलब्ध गराइनेछ ।

पहिले १०० एमबीपीएस भन्दामाथिका लागि प्रति एमबीपीएस ३ हजार ८०० रुपैयाँ महसुल दर तोकिएकामा अब यो प्रति एमबीपीएस १ हजार ९०० मै उपलब्ध हुनेछ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । 

यस सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधँै बराबर रहन्छ, भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई इ–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ । 

मुलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्याङ्क तथा हिसाब अनलाइन गर्नुपर्ने सङ्घ÷संस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।

देशभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया