राेल्पामा कृषि सहकारीकाे तरकारी ओसार्न अनुदानमा आएको गाडी व्यक्तिको जिम्मामा

 मंसिर १९, २०७६ बिहिबार १५:४८:१६ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - ५ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दिएको कृषि अनुदान दुरुपयोग भएको छ ।

तरकारी बोक्नका लागि मन्त्रालयको अनुदानबाट रोल्पाको एक कृषि सहकारीले लिएको गाडी व्यक्तिलाई प्रयोग गर्न दिएर दुरुपयोग भएको पाइएको हो ।रोल्पाको रुन्टीगढी गाउँपालिका–६ मा रहेकाे डुब्रिङ महिला कृषि सहकारी संस्थाले तरकारी बोक्ने भन्दै प्रदेशको साढे १२ लाख अनुदानमा लिएको गाडी जिल्ला सहकारी संघका अध्यक्ष कर्ण बाँठालाई एक वर्षका लागि प्रयोग गर्न दिएको सहकारीको माइन्युटमा उल्लेख छ ।

डुब्रिङ गाउँमा उत्पादित तरकारीलाई होलेरी बजारलगायत अन्य बजारसम्म पुर्‍याउने उद्देश्यले अनुदानमा गाडी लिइएको भए पनि  अहिले गाडी जिल्ला सहकारी संघको जिम्मामा रहेको सहकारीका व्यवस्थापक जितकुमारी पुनले बताउनुभयो ।

प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले अनुदान दुरुपयोग भएको ठहर गर्दै अनुदानग्राहीबाट असुलउपर गर्न निर्देशन दिएपछि मन्त्रालयको एक टोलीले हालै अनुगमन गर्दा यस्तो भेटिएको हो ।

यसरी किसानहरुका लागि आएको अनुदान सीमित व्यक्तिको हातमा पुग्नु दुखद विषय भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ‘किसानका लागि भनेर आएको गाडी किसानहरुलाई थाहै नदिइ अरु व्यक्तिलाई दिनु गलत कार्य हो’, रुन्टीगढी गाउँपालिका–६ का वडाध्यक्ष जगतबहादुर घर्तीले भन्नुभयो, ‘उहाँहरुको गतिविधि हामीलाई जानकारी हुनुपर्ने हाे ।’

यस्तै त्यस सहकारीले मुख्य हाट बजार भवन निर्माण र शाखा भवन मर्मत गर्ने भन्दै प्रदेशबाट झण्डै ९ लाख अनुदान लिएको तर अहिले सञ्चालनमा छैनन् । त्यसका लागि ल्याइएका सामग्री पनि प्रयोगमा आउन नसकेकाे स्थानीयकाेे गुनासाे छ। 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया