कुवेतमा कर्फ्युको बेला अनलाइन विवरण भरेर पनि सामान खरिद गर्न सकिने

 जेठ ४, २०७७ आइतबार १९:५:३१ | उज्यालो सहकर्मी

काठमाण्डौ – कर्फ्युको समयलाई मध्यनजर गर्दै कुवेत सरकारले अनलाइनमा आवश्यक विवरण भरेर नजिकको बिक्री केन्द्रबाट खाद्यान्न खरिद गर्ने व्यवस्था गरेको छ ।

कर्फ्युको बेला बाहिर निस्किन जोखिम हुने भन्दै कुवेत सरकारले तोकेको वेबसाइटमा आवश्यक विवरण भरेर नजिकको बिक्री केन्द्रमा समय लिई सामान खरिद गर्न सकिने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

सुपरमार्केट तथा कोअपरेटिभ सोसाइटीमा समय लिनको लागि www.moci.shop मा गएर आवश्यक विवरण भर्न दूतावासले आग्रह गरेको छ । 

विवरणमा सिभिल आईडी नम्बर, सिभिल आईडी पछाडि रहेको सिरियल नम्बर, बसोबास गर्ने क्षेत्र, मोबाइल नम्बर, इमेल भरेर आफ्नो नजिकको सुपरमार्केट, कोअपरेटिभ सोसाइटी र उपयुक्त समय छनोट गर्नुपर्ने हुन्छ ।

विवरण भरिसकेपछि क्यूआर कोड प्राप्त हुने र आवश्यक पर्दा त्यही कोड देखाउनुपर्ने दूतावासले जनाएको छ ।

सिभिल आईडीमा  आफू बसोबास गर्ने क्षेत्र फरक परेमा my address doesn’t match my civil id भन्ने अप्सनमा क्लिक गरी PACI नम्बर हाल्न पनि दूतावसले सुझाएको छ ।

यस्तै कर्फ्यु अवधिभर मेडिकल केन्द्र तथा अस्पतालमा समय लिनुपरेको अवस्थामा https://curfew.paci.gov.kw/request/create वेबसाइटमा गई आवश्यक विवरण भरी समय लिन सकिने दूतावासले जनाएको छ ।

कुवेत सरकारले घोषणा गरेको आममाफीमा सहभागी भई अहिले विभिन्न क्याम्पमा  रहेका नेपालीहरूको अवस्थाबारे सम्बन्धित क्याम्पमा सम्पर्क गरी बुझ्ने कार्य गरिरहेको दूतावासको भनाइ छ ।

क्याम्पमा रहँदा स्वास्थ्यमा केही असहजता भएमा, खाना, पिउने पानी, सरसफाई लगायतका विषयमा थप केही गर्नुपर्ने भएमा क्याम्प व्यवस्थापन पक्षबाट त्यहाँ खटिएका कर्मचारीहरूसँग शिष्टतापूर्वक अनुरोध गर्न र अहिलेको परिस्थितिमा सबैले संयमित भई उच्च मनोबलका साथ सुरक्षित रहन दूतावासले आग्रह गरेको छ ।

कम्पनी क्षेत्रमा आवद्ध नेपालीहरूलाई खाने, बस्ने लगायतका समस्या भएमा आफ्नो कम्पनी व्यवस्थापनसँग कुराकानी गर्न तथा आफू बस्दै आएको बासस्थान नछोड्न पनि दूतावासको अनुरोध छ । 

कुवेतमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आवश्यक सहयोग, सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजिकरण गरिरहेको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले तत्काल सम्बोधन गर्नुपर्ने समस्या भएमा दूतावासमा टिपाउन पनि आग्रह गरेको छ ।

दूतावासको टेलिफोन नम्बरहरूः २५३२१६०३, २५३२१६०४, २५३२१६०५ र हटलाइन नम्बरः ९८८६९१२१ मा फोन गरेर आफ्ना समस्या टिपाउन सकिने दूतावासले जनाएको छ ।

कुवेतमा गएको मे १० तारिखदेखि अबको मे ३० तारिखसम्म पूर्णकालीन कर्फ्यु लागू गरेको छ ।

 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया