सरकारलाई कांग्रेसको प्रश्न : 'क्वरेण्टीनमा मृत्यु , काे जिम्मेवार ?'

 जेठ ५, २०७७ सोमबार २०:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसले बाँकेको क्वरेण्टीनमा कोरोनाकाे कारण ज्यान गुमाएका युवकको मृत्युबारे सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले विज्ञप्ति प्रकाशित गर्दै सरकासमक्ष युवकको मृत्युसँग सम्बन्धित विभिन्न प्रश्न गर्नुभएको हो ।  

उहाँले कोरोनाको कारण ज्यान गुमाएका युवकले अघिल्लो दिनदेखि नै पटक पटक बान्ता गरेको, सास फेर्न कठिनाइ भएको, ज्वरो आएको विवरण थाहा हुँदा हुँदै क्वरेण्टीनमा नियमित निगरानीमा नराखेकोबारे प्रश्न गर्नुभएको छ । साथै उहाँले राज्यले युवकलाई अघिल्लो दिन नै अस्पताल पुर्‍याउनु पर्ने सामान्य दायित्व निर्वाह नगर्नुको कारणबारे प्रश्न गर्नुभएको छ । 

उहाँले क्वरेण्टीनकाे कार्यविधिले २४ घण्टा एम्बुलेन्स सेवा उपलब्ध रहनुपर्ने मापदण्ड उल्लेख गरेको तर उनी शनिबार राति एकाएक सिकिस्त भएपछि तत्काल एम्बुलेन्स उपलब्ध नभएकोबारे प्रश्न गर्नुभएको छ । 

एम्बुलेन्स उपलब्ध नहुनुमा चालकको असुरक्षित मनोविज्ञानको भूमिका हो भने अत्यावश्यक सुरक्षा सामाग्री र जरुरी मानवीय प्रशिक्षण साथ एम्बुलेन्स चालकहरुलाई किन सजग र सतर्क अवस्थामा राख्न सकिएन भन्ने प्रश्न सोध्नुभएको छ ।

देशभर नै यो समस्या किन निरन्तर देखिएको भन्दै यसबारे जवाफ दिन भनिएको छ । कांग्रेसले आइतबार बिहान ७ बज्नुअघि उनको मृत्यु भएपछि उनको शव क्वरेण्टीन बनाइएको विद्यालयको चौरमा अलपत्र स्थितिमा दिनभर किन राखियो भन्ने प्रश्न गरेको छ । 

अमानवीय ढङ्गले युवाको शव दिनभर घाममा सुकाएर राख्नुभन्दा सुरक्षित व्यवस्थापनका साथ उठाएर उपयुक्त ठाउँमा राख्ने मानवीय र जिम्मेवार सोच नदेखिनुको दोषी को हुन् भन्ने प्रश्न विज्ञप्तिमा राखिएको छ । 

लास उठाउन परीक्षण रिपोर्टको प्रतिक्षा गरिएको हो भने सम्भव भएसम्म चाँडो रिपोर्ट तयार गर्न उचित समन्वय किन गरिएन भन्ने प्रश्न सोधिएको छ । 

‘विशेष परिस्थितिमा चिकित्सक र प्रयोगशालाबीच समन्वय गरेर एउटा मात्रै नमुनालाई प्राथमिकता साथ परीक्षण गर्दा म्यानुएल आरएनए निकाल्न झण्डै एक घण्टा, पीसीआर उपकरणमा परीक्षण गर्न दुई घण्टा लाग्ने प्राविधिक स्थिति ज्ञात हुँदाहुँदै अघिल्लो दिन सङ्कलन गरिएको उनको स्वाबको परीक्षण त्यही ढङ्गले समयमै गर्ने/गराउने व्यवस्थापकीय समन्वय र तदारुकता किन प्रस्तुत भएन ?’ विज्ञप्तिमा सोधिएको छ । 

नेपालमा कोरोनाको पहिलो सङ्क्रमित भेटिएको चार महिना पुग्न लाग्दासम्म पनि क्वरेण्टीनकाे यस्तो अव्यवस्थित स्थितिदेखि परीक्षणमा ढिलाइसम्म र स्वास्थ सामग्री अभावदेखि फिल्डमा चुस्त कार्यसम्पादन गर्ने टिम संयोजनसम्ममा प्रायः धेरै ठाउँमा गम्भीर लापर्वाही रहेकोे विचित्रताले आउँदो दिनको कस्तो चित्रको सङ्केत गर्दैछ भन्ने पश्न सोधिएको छ । 

काङ्ग्रेसले श्रीमती तथा अबोध छोरीछोराले परबाट शव हेर्दै दिनभर रोएको कारुणिक चित्रले राज्यसत्ताको जिम्मेवारीमा रहेकाहरुलाई आफ्नो कर्तव्यप्रति गम्भीर बन्ने गरी केही चेत आएको छ कि बाँकेको घटनालाई केवल एक दुःखद कथाका रूपमा विस्मृतिमा धकेल्ने हो भन्ने प्रश्न सोधेको छ । 

नेपाली कांग्रेसले बाँकेको क्वरेण्टीनमा भएको युवकको मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा उल्लेख गरेको छ । साथै  कांग्रेसले घटनाबाट शिक्षा लिँदै गम्भीर भएर कार्य गर्न सरकारलाई आग्रह गर्दै नागरिकको अमूल्य जीवनप्रति खेलबाड नगर्न चेतावनी दिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया