विदेशबाट आउनेका लागि भक्तपुरमा क्वरेन्टीन र होटलकाे व्यवस्था

 जेठ २२, २०७७ बिहिबार १५:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - विभिन्न देशबाट सरकारले फर्काउन लागेको आफ्ना नगरपालिकाका स्थायी बासिन्दालाई राख्न जिल्लाका नगरपालिकाहरुले क्वरेन्टीन निर्माणदेखि होटलमा राख्नेसम्मको व्यवस्था गरेका छन् । 

जिल्लाको पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर नगरपालिकाले आफ्ना नगरभित्रका नागरिकलाई नगरभित्रका सुविधासम्पन्न होटलमा राख्ने भएको छ । नगरपालिकाले अस्थायी क्वरेन्टीनको निर्माण नगरी होटलहरुमा राख्नेगरी व्यवस्था गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । 

यसबारेमा होटल व्यवासायीसँग छलफल गरिसकेको र विदेशबाट आउने व्यक्ति आफैँले होटलमा बसेको खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । नगर प्रमुख प्रजापतिले भन्नुभयो, ‘क्वरेन्टीनमा राख्दा कोरोनाको जोखिम हुन सक्छ । होटलमा भए शौचालयदेखि बस्ने कोठा समेत फरक हुन्छ । त्यसैले उनीहरुलाई होटलमा राख्ने गरी व्यवस्था गरेका छौँ । त्यसको खर्च भने आफैँले ब्यहोर्नुपर्छ ।’

मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किने आफ्ना नागरिकका लागि क्वरेन्टीन, भेन्टिलेटरसहितको आइसोलेसन, अस्पतालको समेत व्यवस्था गरेको छ ।नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्ना नागरिकलाई मात्रै सुविधा र संरक्षण दिने गरी व्यवस्थापन गरेको बताउदै नगरपालिकाभित्र अन्य जिल्लाबाट आएर भाडामा बस्नेहरुका लागि भने कुनै व्यवस्था नगरेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले पनि आफ्ना नगरपालिका भित्रका स्थायी बासिन्दाका लागि वडा वडामा क्वरेन्टीनको व्यवस्था गर्न वडा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । 

आवश्यक पर्दा खरीपाटी विद्युत प्राधिकरणको क्वरेन्टीनलाई नै प्रयोगमा ल्याउने बताउँदै उहाँले होटलमा बस्न चाहने आफ्ना नागरिकका लागि आफैँले खर्च गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । 

सूर्यविनायक नगरपालिकाले भने आफ्ना नागरिकलाई राख्न भक्तपुरको सूर्यविनायक नगरपालिका-१० बाँसघारीमा १ सय जना क्षमताको क्वरेन्टीन निर्माण गरेको छ । 

सांसद बस्नेतद्वारा क्वरेन्टीन अवलोकन

भक्तपुरका व्यापारी रोमन शिलाकारले प्लाइउड गोदाम सञ्चालनका लागि बनाएको जस्ताको टहरामा बनाइएको क्वरेन्टीनको संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले अवलोकन गरेर जानकारी लिनुभएको छ ।

विदेशबाट फर्किएका जिल्लाका नागरिकलाई कुनै पनिसमस्या नपर्ने गरी सुरक्षित व्यबस्थापन गर्न उहाँले निर्देशन समेत दिनुभएको छ ।

नगरपालिकाले बनाएको क्वरेन्टीनमा भारतबाट फर्किएका नागरिकलाई राख्न समेत सुरु भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

क्वरेन्टीन व्यवस्थापनका लागि नगरपालिकाले १० लाखको बजेट छुट्याएर काम गरेको जानकारी दिदै उहाँले नगरपालिकाले भारतबाट फर्किएका नागरिकलाई क्वरेन्टीनमा राख्नसमेत सुरु गरेको जानकारी दिनुभयो । 

सूर्यविनायक-८ वडाका वडाध्यक्ष एवं सामाजिक विकास समिति संयोजक किरण थापाले भारतबाट बसमा फर्किनेहरुलाई हिजोबाट नै राख्न थालेको जानकारी दिनुभभयो । अहिले १० जना क्वरेन्टीनमा बसेका छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया