'दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र देशलाई कोरोनामुक्त बनाउन सक्दैन'

 जेठ २७, २०७७ मंगलबार १३:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । 

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणको लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र देशलाई कोरोनामुक्त बनाउन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्क्तैन । अब हामी सहयोग गछौँँ भनेर मात्रै बस्दैनौँ । अब हामी प्रश्न गर्छौँ । उत्तर चाहन्छौँ र सरकारलाई जवाफदेही बनाएर छाड्छौँ । हामीलाई अब उत्तर चाहिन्छ, सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाब–किताब चाहिन्छ । यस्तो राष्ट्रिय विपद्को बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’ 

प्रतिनिधि सभामा आफूहरुले माघदेखि नै कोरोना सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताको बारेमा आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो, ‘न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कसको ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कसले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहङ्कारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ ।’ 

उहाँले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोप्रति आपत्ति जनाउँदै प्रश्न गर्नुभयो– यो क्वरेण्टीन हो कि मान्छे मान्र्छे कन्सन्ट्रेशन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’  

उहाँले कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क सङ्कलन तथा त्यो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोख्नुभयो ।  

उहाँले भन्नुभयो, नेपालभन्दा बाहिर एक सय २७ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालय भन्छ– नेपालभित्र १४ जनाको मृत्यु भएको छ । ३७ सय ६२ जना सङ्क्रमित भएका छन् । तर के मृत्यु हुनेको सङ्ख्या १४ मात्रै हो ? त्यसो भए भोकबाट मारिएका सूर्यबहादुर तामाङ र झुण्डिएर मरेका चन्द्रबहादुर परियार र औषधी खान नपाएर मरेकी कंकादेवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकायको मृत्युको जिम्मा कसले लिन्छ । क्वरेण्टीनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ ? वा झुण्डिएर मर्न बाध्य भएका लिला बल्लभ र आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ ?’

अदालत, संसद, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भने पनि सरकारले बेवास्ता गरेको, सुदूरपश्चिममा स्वाब सङ्कलन रोकिएको, प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहँदा सरकारले क्वरेण्टीनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

‘अब क्वरेण्टीनमा बसेको मान्छेको परीक्षण नगर्ने रे । बरु सरकारले यसो गरे हुन्छ । टेस्ट गर्न बन्द गरिदिने अनि नेपाललाई कोरोना फ्री देश भन्दिने । किन कि परीक्षण नभएपछि एक जनामा पनि सङ्क्रमण देखिन्न । जवाफ चाहियो ? जिम्मा कसले लिने हो ? प्रधानमन्त्रीले भन्नुभएको हो यसो गर्नलाई ? स्वास्थ्य मन्त्रीले भन्नुभएको हो ? एक जना दुई जना निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट र अपराधबाट भाग्न पाइँन्न ।’ 

विज्ञहरुसँगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडीटी परीक्षणलाई जारी राखेकोमा पनि कांग्रेसले आपत्ति जनाएको छ ।

सांसद थापाले भन्नुभयो, ‘न यो विश्वसनीय छ ? न नेपालको सङ्क्रमणको अवस्थामा यसको औचित्य छ । तर जबर्जस्ती आरडीटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ ? हामीलाई जवाफ चाहिन्छ । मृत्यु भइसकेका मान्छेको स्वाब परीक्षण नगर्ने कसले भन्यो ? हामीलाई जवाफ चाहिन्छ ।  ”

उहाँले अस्पतालको तयारी, सङ्क्रमित बढ्दै गर्दा कुन अस्पतालमा कति सामग्री थपियो कति जनशक्ति थपियो भन्नेबारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले विदेशबाट ल्याउने भनिएका नेपाली नागरिक, कोरोनाभन्दा बाहेक अन्य बिरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा भएका नेपालीलाई ल्याउने भनेर निर्णय गरियो अहिले कुन एअरलाइन्सले बोक्ने भनेर झगडा गरेर आउन आतुर भएर बसेका नेपालीमाथि यत्रो ठूलो वज्रपात गर्ने ? जवाफ चाहिन्छ । गर्भवती महिलादेखि खोप पाउने बालिकासम्म, दीर्घ रोगीका बिरामीले औषधी किन पाएनन् ? जवाफ चाहिन्छ । कृषक मजदुरदेखि साना उद्योगी, ठूला उद्योगी व्यवसायीसम्मले प्रधानमन्त्रीको गीत र कविताबाट राहत पाउँदैनन् । तिनको लागि कार्यक्रम के छ जवाफ चाहियो ।’ 

उहाँले अब कांग्रेसले प्रश्नमात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रश्न केबल प्रश्नका लागि होइन । उच्चस्तरीय समिति भनेर जुन बनाइएको छ । हामी उसलाई चिन्दैनौ हामीलाई चिनाउनुपर्‍याे । उपप्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्‍याे । जवाफमा चित्त बुझेन भने प्रधानमन्त्री आउनुपर्‍याे । एउटा/एउटा प्रश्नको जवाफ दिनुपर्छ । थपक्क बोलेर थपक्क बस्ने दिन गए । अब सरकारले यहाँ आएर हामीले मागेको हिसाब–किताब दिएपछि मात्रै सबै प्रक्रियाहरु अगाडि बढाउने ठाउँसम्म हामी पुग्छौँ । म आग्रह गर्न चाहन्छु । सरकारले सोचोस्, तयारी गरोस् । अब सदनमा कांग्रेसले एउटा/एउटा कुराको हिसाब नदिइकन सरकारलाई सुतेर बस्न दिदैनौँ भन्नेकुरा जानोस् ।'

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया