'कांग्रेससँग टुटेकाे नाता ६७ वर्षपछि जाेडियाे'

 साउन १३, २०७७ मंगलबार १९:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी रहेको बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी कांग्रेस प्रवेश गर्नुभएका सुनीलबहादुर थापासहितलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले प्रजातन्त्रलाई डरलाग्दो अवस्थाबाट माथि उठाउन लोकतान्त्रिक शक्तिहरु एकजुट हुनु आवश्यक रहेको बताउनुभयो । प्रजातन्त्र विरोधी शक्तिहरु सरकारमा रहेको उल्लेख गर्दै उहाँले सरकारका कारण प्रजातन्त्रमाथि सङ्कट आउने अवस्था आएको बताउनुभयो ।

प्रेस स्वतन्त्रता कमजोर पार्ने, फोन ट्यापिङ गर्न पाउने विधेयकहरु ल्याएर सरकारले ‘प्राइभेट कुरा गर्न नसकिने अवस्था’ आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डरलाग्दो अवस्था छ । लोकतान्त्रिक शक्तिहरु एक हुन जरुरी छ, जसले भोलि आउने च्यालेन्जहरु सामना गर्न सकियोस् । प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई पूर्णरुपमा गणतन्त्रात्मक लोकतान्त्रिक राष्ट्र बनाउनुका साथै राष्ट्रिय एकताका लागि एक हुनु आवश्यक छ ।’ 

सभापति देउवाले थापालाई अहिले सहमहामन्त्रीको जिम्मेवारी दिइएको जानकारी गराउँदै पार्टीमा कुनै प्रकारको भेदभाव नहुने बताउनुभयो । थापालगायतका नेताको प्रवेशले पार्टी बलियो बनाउने विश्वास देउवाले गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा थापाले विसं २०१० सालदेखि नाता टुटेको कांग्रेससँग ६७ वर्षपछि जोड्न पाएकोमा आफुलाई खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०१० देखि कांग्रेससँगको म र मेरो परिवारको नाता टुटेको थियो । मेरो बुवा स्व. सूर्यबहादुर थापा २००८ मा कांग्रेसको कोषाध्यक्ष हुनुहुन्थ्याे, विराटनगरामा । २०१० सालमा धनकुटाको सभापति पनि हुनुभयो । आज झण्डै ६६/६७ वर्षपछि नाता जोड्न पाएँ ।’ थापाले राप्रपाले संविधान निर्माण हुँदा गरेको वाचा तोडेका कारण लोकतान्त्रिक मार्ग लिन कांग्रेसमा प्रवेश गरेको पनि बताउनुभयो ।

गएकाे शनिबार राप्रपा परित्याग गरेका थापासहितका नेताहरु मङ्लबार कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमकाबीच सभापति देउवाले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभयो । नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाउनुभएको थियो । देउवाले सदस्यता प्रदान गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया