सभापति देउवाका कारण पार्टीकाे स्वास्थ्य बिग्रियाे : नेता सिंह

 साउन १४, २०७७ बुधबार १४:०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गर्नुभएको छ । 

१३ औँ महाधिवेशनबाट पार्टीको नेतृत्व सम्हाल्नुभएका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकारअनुसार काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रिएकाे नेता सिंहले बताउनुभएको हो । बुधबार न्युज एजेन्सी नेपालका संवाददातासँगको कुराकानीमा पार्टीको विधान र नियमावलीले निर्देशित गरेअनुसार काम नगर्दा पार्टी अप्ठ्याराे अवस्थामा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘१३ औँ महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित भयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरेअनुसार गर्नुपर्ने काम, कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारण अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भए पनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको बताउनुभयो । उहाँले पार्टी प्रजातान्त्रिक मूल्य, मान्यताअनुसार चल्न नसकेको स्वीकार गर्नुभयो । महाधिवेशनको विधि र प्रक्रिया जिल्ला र पालिकामा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उहाँले बताउनुभयो ।

पार्टीको विधानअनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भए पनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकाे नेता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य, मान्यता विपरीत जुन जबर्जस्ती गरिराख्नु भएको छ यो अप्रजातान्त्रिक गति हो । यो ठिक भएन भन्ने कुरा हामीले भनिरहेका छौँ । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेशनका लागि प्रभावित गर्ने, पद बाँड्ने जस्तो काम भयो । अर्कोतिर फेरि प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने मसँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ, त्यसलाई मैले कारबाही गर्छु भन्ने देखिएकाे छ । 'क्यारेट एण्ड स्ट्रिक' अर्थात् दण्ड दिने र मोह पनि देखाएर आउने महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टीभित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो बिलकुलै अप्रजातान्त्रिक छ, यो ठिक छैन भन्ने कुरा हामी भनिरहेका छौँ ।’

उहाँले पार्टीभित्रका पुराना नेताहरुलाई कारबाही गर्ने, अन्यलाई प्रवेश गराउने खेलमा सभापति लाग्नुभएको बताउनुभयो । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समयअनुसार ठिक नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले 'टेस्टेड' पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुलाई प्रवेश गराउने जस्ताे देखियाे । प्रवेश त गराउनुपर्छ, ठिक छ, तर यो जुन समय हो, ठिक भएन ।’ 

नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एक पटक फेल भएको नेतृत्वलाई फेरि अवसर दिन नहुने नेता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस निर्वाचनमा सेट ब्याक भएको छ । अब यसलाई ओभर कम गर्न १४ औँ महाधिवेशनमा फेल भइसकेको नेतालाई फेरि दोहोर्‍याउनु हुँदैन ।’ 

२०४६ सालयताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलमा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताउनुभयो । कार्यकर्तालाई कसरी परिचालन गर्नेभन्दा पनि नेताहरु शक्ति र सत्ताको खेलमा लाग्दा कांग्रेस दुरावस्थामा पुगेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विचारधारा राम्रो, स्ट्रगल राम्रो, डेलिभर गर्ने पनि हाम्रो राम्रो छ । तर पार्टीमा के भयो भन्दा २०४६ सालसम्म त पार्टी प्रतिबन्धित थियो । २०४६ सालमा जनआन्दोलन सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा बहुदलीय व्यवस्था पुनर्बहाली भयो । प्रतिबन्धितबाट खुलामा आइसकेपछि पार्टीलाई अगाडि बढाउनको लागि कार्यकर्ताहरुलाई कसरी परिचालन गर्ने, कार्यकर्ताको जिम्मेवारी के हो, जनतामा कसरी जाने भन्ने कुरामा ध्यान नजानु नेपाली कांग्रेसको डिफेक्ट हो । मूल्य र मान्यताको राजनीतिबाट 'पावर पोलिटिक्स' सत्ताको राजनीतिमा गएको कारणले अहिले नेपाली कांग्रेस दुरावस्थामा पुगेको छ ।’

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको बताउनुभयो । उहाँले राजनीतिक र वैधानिक रुपमा नेकपाकाे औचित्य समाप्त भइसकेको बताउनुभयो ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया