थप ६ कोरोना सङ्क्रमितको मृत्यु : ज्यान गुमाउनेको सङ्ख्या ८९ पुग्यो

 साउन २८, २०७७ बुधबार ११:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका विभिन्न अस्पतालमा थप ६ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुरमा तीन तथा मोरङ, रुपन्देही र सप्तरीमा एक/एक जना गरी ६ जनाको राति ज्यान गएको हो ।

गएराति ललितपुरको पाटन अस्पताल, किस्ट अस्पताल र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका एक–एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो । यस्तै मेडिसीटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको राति ज्यान गएको छ । साउन ५ गते भर्ना भएका उहाँमा निमोनिया, श्वासप्रश्वास लगायतका समस्या थियो । यस्तै किस्ट अस्पतालमा ज्यान गुमाएका व्यक्तिको बारेमा भने विवरण सङ्कलनको काम भैरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर खगेश्वर गेलालले बताउनुभयो ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षका र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

ज्यान गुमाएका ४२ वर्षका पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका २ का ५५ वर्षका पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको ज्यान गएको छ ।

कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया