रिहर्सल

 भदौ २, २०७७ मंगलबार १६:४९:५१ | प्रकाश सायमी
unn.prixa.net

काठमाण्डौ – म चढेको बसको पछाडि कुनै सिट थिएन, म बसेको सिट नै अन्तिम थियो । लास्ट सिटमा बस्ने रहर मलाई स्कुल डेजदेखि नै थियो । 

क्लासमा पनि म लास्ट सिटमै बस्थेँ तर क्लास टिचरले फस्ट ब्वाई एट लास्ट बेन्च भनेर जिस्काएपछि अघिल्लो सिटमा आएर खुट्टा तन्काउन थालेको थिएँ , त्यो बेला । 
बस गुड्यो, अँध्यारोलाई छल्दै छल्दै । 

बसको लाइटले बाटोबाहेक केही देखिँदैनथ्यो । मलाई त त्यो बाटो पनि सानो गल्ली जस्तो लाग्दै थियो पछाडिको सिटबाट हेर्दा । 

बाटो छेउछाउका घरका स्ट्रीट ल्याम्प निभिसकेका थिए । बाटो त पूरा सुनसान थियो । सुटिङ गर्न तयार पारिएको कुनै क्लाइमेक्सको सेट जस्तो । 

बस बजार छोडेर भित्री गाउँ हुँदै उकालो चढ्दै गर्दा बसले लामो लामो सास धिमाधिमा गतिमा छोड्न थाल्यो । त्यतिबेला  मैले बसको झल्याकझुलुक उज्यालोमा मेरो पछाडि हेरेँ, मेरो पछाडि अर्को दुई ओटा सीट रहेछ तर त्यहाँ बोराका बोरा सामान कोचिएको थियो  ।

मैले ह्यान्डी ब्वाईलाई सोधेँ , के हो भाइ यो ? 

उसले बसको आवाजलाई म्युट गर्न खोजे जस्तै गरी बोल्यो, रिमोट हातले दबाएको जस्तो अभिनयमा उसले  भन्यो, अलैँची हो सर । अलैँची । 

अलैँचीको भव्य खेती हुने यो पहाडी भेगमा अलैँचीको व्यापार खुब चल्छ । अलैँची, अदुवा, चिया यहाँको विशेष खेती हो । यसको व्यापार भारतको दूर दिगन्तसम्म पुग्छ भन्ने सुनेको छु । 

सिंगताम बजारबाट अलैँची बोकेर हिँडेको यो बस राबाँग्ला भएर अझै कता जाने हो मलाई थाहा थिएन । बसको अघिल्लो सिटमा एक्लो ड्राइभरबाहेक अरु कोही थिएनन्  । 

बसको ढोकाको छेउको सिटमा ह्यान्डी ब्वाई अर्को एउटा साथीसित खैनी माड्दै खाँदै थिए । 

मानौँ यस्तो लाग्छ, त्यो बसले मलाई किडन्याप गरेर कतै लाँदैछ, डल्लै बसमा म एक्लै । 

यतातिर सिङ्गैलाई डल्लै भन्ने चलन छ, दार्जीलिङतिरको प्रभाव । 

बस डङ्गुर धुँवा फ्याँक्दै राबाँग्ला बजारमा आएर रोकियो । 

म झोलासहित उत्रेँ, अन्धकार त्यो बस्तीमा । ठूलो आवाजको बसबाट म ओर्लिँदा त्यो बस्ती शान्त भएर सुतिरहेको थियो । 

मलाई यो बस्ती वा गाउँमा आउँदा जहिले पनि हुनु/नहुनुको प्रेमको आभास हुन्छ । मेरो जीवनको पहिलो प्रेमको अन्तिम पाठ यहीँ लेखिएको छ, त्यो मलाई थाहा थियो । 

जसलाई म प्रेम गर्थेँ, उनको नाम थाह नपाइकन मैले श्वेता भनेको थिएँ तर उनको नाउँ श्वेता होइन भन्ने कुरा मैले दुई वर्षपछि मात्र थाहा पाएँ । कति शान्त प्रेम थियो हाम्रो, मौन र शान्त । कुनै विरोध र असन्तुष्टि नै थिएन । 

श्वेता मलाई जीवनमा बर्टोल्ट ब्रेख्तको किताब पढ्न दिने पहिलो महिला थिइन् तर मैले ब्रेख्तका उदास पङ्तिहरु धेरै पहिल्यै बम्बईका वर्षादी दिनहरु मा पढिसकेको थिएँ । अब फेरि पढ्दैछु, ब्रेख्त र ब्रेख्तका कविताका पङ्तिहरु । 

मुम्बईको सार्वजनिक पुस्तकालयबाट यो किताब साभार गरेर पढ्दा मसित पैसा कम, समय बढी हुन्थ्यो । अहिले समय छ तर पढ्ने फुर्सद छैन । 

मुम्बई भर्खरै मुम्बईमा रुपान्तरण हुँदै थियो तर पनि मलाई बम्बई नै भन्दा चखिलो स्वाद लाग्थ्यो किनकि बम्बई बम्बई नै हुँदा म सन् १९८४ मा बम्बई पुगेको थिएँ । 

मुम्बईको नाम मैले काठमाण्डौबाट भागेर भारत  जाने क्रममा वीरगञ्जमा देखेको थिएँ, होटल बम्बे थियो त्यहाँ । 

त्यसपछि मैले साङ्गीतिक कार्यक्रम गर्न जाने क्रममा इलाम जाँदा आइतबारे बजारको एउटा मिठाई दोकानमा सुनेको थिएँ, बम्बइसान भन्ने मिठाइको नाम ।  

इलामको आइतबारेमा हामी २०३९ सालमा गायक सुनील उप्रेति, विज्ञान श्रेष्ठ, अनुराधा शाह, सुरेन्द्रसिंह सुवाल, वीरेन्द्र सुवाल, भूपालमान सिंह, दीप तुलाधर, मधुशेखर मानन्धर, रवि खड्का, रोशन कुँवर आदि पुगेका थियौँ ।

कार्यक्रम फ्लप भएर हामी आइतबारेमा बास बस्दा मैले राईजीको घरको अगाडि बम्बइैसान निकै खाएँ । 

अङ्ग्रेजीमा भन्छन् नि, वन्स अपन अ टाइम । त्यो मेरो लागि त्यस्तै अनुभव थियो, त्यसपछि मैले आजसम्म बम्बईसान खाएको छैन, बम्बई पुगेर पनि खाइँन । 

बम्बई नाउँ मैले फिल्म हुँदो देखेको हुँ तर अझै मलाई यो नाउँ अमेरिकाको फ्लोरिडा काउन्टीको डेढ दुई लाख जनसङ्ख्या भएको गाउँको नाउँ ब्रिटिसहरुले सापटी लिएर राखेको भनेर थाहा पाएपछि खुब मन परेको हो । 

बम्बईबाट आएको फिल्मी ब्वाईको आजको रात श्वेतासितको भेट अपेक्षा गरिएको भन्दा दुई घण्टापछि भयो । 

कुराकानी चल्यो । दुःख पूर्ण सम्झनामा विछोड, वियोगका दिनहरुको कुरा गरियो । त्यो रात म पाहुना नै थिएँ । भोलिपल्ट मात्र प्रेमी भएँ । 

भोलिपल्ट प्रेमीलाई प्रेमिकाले सुनाइन्, अब मेरो बिहे हुँदैछ हजुर । घरीघरी मलाई भेट्न नआउनुस् । पहिलो प्रेमको अन्तिम सिक्वेन्स थियो, एक्जिटको सिन मेरो थियो । चुपचाप सुनेँ, चुपचाप फर्केँ । फैज अहमद फैजको नज्मको पङ्क्ति सम्झिँदै ...

और भी गम है  
जमाने में मुहब्बत के सिवा । 
ब्याक् टु बम्बई । 

त्यसपछि श्वेताको विवाह भयो, दार्जिलिङतिर वा सिक्किमतिर कतै । म गइँन । ब्रेख्तको किताब पढ्ने दिन पहिलो प्रेमिकासित कुनै प्रेमपत्र नलेखी छुटानामा भयो । 

त्यसपछि आजसम्म म राभाँग्ला गएको छैन र देखेको पनि छैन । मेरो पहिलो प्रेमको अन्तिम चिहान यहीँ बन्यो । 

मैले प्रेम गर्दैगर्दा त्यहाँका एक स्थानीय भाइ याप्चुँग भुटियाले मलाई एकदिन भनेको थियो, तपाईँको जस्तै यहाँ एक्टर राज बब्बरको र स्मिता पाटिलको लभ परेको थियो ।  

राभाँग्लामा राज बब्बर र स्मिता पाटिलको शपथ फिल्मको सुटिङ भएको मलाई थाहा थियो तर ती दुई बम्बैया कलाकारको हुस्न भी आप है , ईश्क भी आप है भन्ने गीत छायाँकन गर्दा लभ परेको कुरा मलाई स्कुले कान्छा भन्ने मेरा हितैषीले राबाँग मै सुनाएका थिए । 

सामाजिक सञ्जालतिर आजकाल राबाँगको फोटो देख्छु त्यो चारधाम बनेछ,  पवन चाम्लिङको एसडीएफ सरकार आएपछि ।

मेरो प्रेम धाम अहिले चार धाम बनेको खबरले म आह्लादित पनि भएको छु । श्वेताले मलाई ब्रेख्तको पोय्ट्री पढ्न दिँदाको समय, काल र दिक् अर्कै थियो, सिक्किममा नरबहादुर भण्डारीको मुख्यमन्त्रीत्व थियो । उनको पार्टी सिक्किम सङ्ग्राम परिषद् सरकारमा आफ्नो झण्डा र डण्डा फैलाउँदै थियो ।

त्यही पार्टीमा पवन चाम्लिङ पनि थिए, उनी त्यही सरकारमा सडक निर्माण यातायात मन्त्री थिए  । त्यतिबेला चाम्लिङ निर्वाण नामको पत्रिका पनि निकाल्थे, नाम्चीबाट । 

नेपालको नाम्चे बजार जस्तै सिक्किममा पनि नाम्ची छ भन्ने कुरा मैले सिक्किम गएर नै थाहा पाएँ  । 

नामचीको गर्ल्स होस्टलमै त्यतिबेला श्वेता बस्थिन् । उनको आउटिङको समय बेलुका चार बजेपछि पर्थ्याे । नामचीको हेलिप्याडतिर उनी आउटिङगमा आउँदा हाम्रो भेट हुन्थ्यो । सुने अनुसार अब शायद त्यो हेलिप्याड पनि छैन । अहिले त भण्डारी पनि छैनन्  । 

उनको पार्टी पनि शायद विलय भइसक्यो । 

अनि हाम्रो प्रेम पनि फ्लप भएर उपन्यासमा कतै नलेखिइने विषय भइसक्यो । प्रकाश कोविदलाई भेटेको भए यसको राम्रो उपन्यास उनले लेख्थे शायद । 

कोविदलाई मैले सन् ८० को दशकमा काठमाण्डौमा भेट्दा गीतकार कर्ण लामाका छोरा या देशको कथामा अनुरोध उपन्यास लेख्दै थिए, उनी यसरी उपन्यास लेख्न खप्पिस थिए । यो रचना गर्न उनले आफ्ना साथी पारिजातलाई भेट्न म्हैपी जाँदै गर्दा  मलाई सुनाएका थिए तर मेरो पहिलो प्रेम कथा त प्रकाश कोविद बितेपछि पो सुरु भयो । 

मेरो प्रथम प्रेम कथाको अन्त्य हुँदा नारायणगोपालले उनको ऐतिहासिक कार्यक्रम स्वर्णिम सन्ध्यामा भूपीको गीत गाइसकेका थिए , 

धेरै हाँसे जिन्दगीमा रुनु पर्दोरहेछ 
हाँसोलाई आँसुले धुनु पर्दोरहेछ 
नरोऊ नरोऊ भन्दा पनि के रुक्थे 
यी मेरा आँसुहरु .....

यस्तो लाग्थ्यो , नारायणगोपालको गीत वास्तविक हो मेरो प्रेम चाहिँ रिहर्सल । 

स्वर्णिम सन्ध्यामै नारायणगोपालसितै उभिएर खिँचेको कोडाक् कलरका फोटो बोकेर प्रेमीको प्रोक्सी रोलमा सिक्किम पुगेको थिएँ, रिहर्सल गर्न  । 

त्यो भेटमा उनले मलाई ब्रेख्तको काकेशियन चेक सर्कल मेरो हातमा दिइन् र मैले त्यही फोटो दिएर हामी छुट्टियौँ । 

प्रथम प्रेमको बेला तिनले भनेकी थिइन्, तपाईँको हुन सकिनँ भने म मेरो नाम नै बद्लिइ दिन्छु । तर त्यो भेटपछि तिनले नाम  होइन थर चाहिँ बदलिन् । 

ब्रेख्तको काकेशियन चेक सर्कल मसितै रह्यो । किताब फ्याँक्न मन थिएन तर कसैलाई दिन पनि सकिनँ । आफूले बोकेर हिँड्दा सम्झना र यातना दुवै बोके जस्तो लाग्न थाल्यो । 

संयोगले एकदिन मेरो हातबाट त्यो किताब रंगकर्मी सुनील पोखरेलले सापटी लिए, मैले पनि त्यसको बदला उनीसँग स्वैन बन्धु लिखित फिल्म स्क्रिप्टराइटिङ खोसी लिएँ, उनी ब्रेख्त नफर्काउने थिए म स्क्रिप्टराइटिङ । 

मेरो प्रेम अन्त्य हुँदा सुनील त्यतिबेला जोड प्रेममा थिए, भविष्यको ससुरालीमा गएर ऊ केविन कोस्टनर को द फिल्ड अफ् डम्सि हेर्थे । 

म मेरा मित्र नूतन सिंहले लेखेको प्रथम प्रेमको खोजमा कथा पढ्दै थिएँ मलाई थाहा थिएन, लेखिकाको रुपमा नूतनको यो पहिलो रचना थियो । मलाई यो पनि थाहा थिएन , मधुपर्कका सम्पादक नारायणबहादुर सिंहले आँकुरामा प्रकाशित नगरिकनै उनलाई कथाकारको रुपमा लञ्च गर्दै थियो । 

नूतन त्यो बेला जर्मन भाषा केन्द्र गोयथे इन्स्टिच्युटमा जनसम्पर्क हेर्थिन् । 

मैले अलि अलि ब्रेख्त उनका कारणले पनि पढिसकेको थिएँ । काठमाण्डौमा पहिलो पटक ब्रेख्तको नाटक अब बाँकी नै के छ र हुँदा म नूतनसित दर्शकदीर्घामा थिएँ । आफू एक रंगकर्मी भए पनि मैले ब्रेख्तको नाटक गरेको थिइँन, यहाँ कसैले पनि गरेका थिएनन् । 

ब्रेख्तको नाटक अब बाँकी नै के छ र हुँदा म नूतनसित रिहर्सलमा पनि जान्थेँ, ती पात्रहरुलाई हेर्न जुन पात्र मभित्र थिएन । 

ब्रेख्तको नाटक नेपालीमा पहिलो पटक मञ्चन हुँदा न ब्रेख्तसित प्रेममा थिएँ न आफैँ प्रेममा । जब होटल बज्रमा सेभेन थिएटरले थ्री पेनी अपेरा मञ्चन गर्दा म भरपूर प्रेममा थिएँ । 

र मलाई नाटककी निर्देशक सविना लेहमनले एउटा भूमिकामा चयन पनि गरेकी थिइन्, लुड्मिला, मेरी इभान्स्, स्याँग्बोबाहेक म सबै रिहर्सलमा दिनभरि बस्थ्यौँ अनि राति म त्यही होटलमा ड्युटी गर्थेँ । 

नाटक मञ्चन हुने बेला म आउट भएँ, अर्को एक जना कलाकारले प्रवेश पाए । मेरो रोल यही सकियो, म रिहर्सलमा थिएँ । 

ब्रेख्त नाटक कसरी लेख्थे मलाई थाहा थिएन तर कविता कसरी लेख्थे त्यो चाहिँ मैले फ्रेन्च फिल्मकर्मी ज्याँ रेनुको आत्मकथामा पढिसकेको थिएँ , उनले लेखेका छन्– प्रायः ब्रेख्त मलाई भेट्न मेरो म्युडेनको निवासमा आउँथे जहाँको भेट उनलाई खुब जम्थ्यो । 

ब्रेख्त आफ्ना सहयोगी बर्लिन महिलासित आउँथे, ती महिला टाइपराइटर जस्तो देखिने हेक्सागोनल एकोर्डिन लिएर आउँथी, मलाई लाग्छ त्यसलाई कन्सर्टिना भनिन्छ शायद ।

हान्स् एज्लर, कर्ट वेइल र लोट्टे लेन्या पनि उनीसँगै आउँथे । ब्रेख्त मलाई पुराना फ्रान्सेली गीत गाउन लगाउँथे । मलाई सुरतालको ज्ञान थिएन म राम्रो गाउँदिनथेँ । कमसेकम ब्रेख्तलाई यसले केही असर पार्दैनथ्यो, उनकी सहायिकाले त्यो धुन कन्सर्टिनामा टिप्थिन् । र ब्रेख्त पछि त्यही धुनलाई पक्डेर कविता लेख्थे । ब्रेख्त र कोचमा यस्ता धेरै समानता थिए । 

म यी पङ्क्ति पढ्दै गर्दा ब्रेख्तबाट धेरै टाढा र ब्रेख्तको नाटकसित धेरै नजिक थिएँ । एकदिन यस्तै समय ब्रेख्तको उदास नगरमा आफ्नो प्रथम प्रेमको अवसानको कथा बुन्दै गर्दा साथी सुनील कापी र कलम लिएर मलाई भेट्न आइ पुगे । 

उनी कहिले फर्केर भारतको दिल्ली जान्छु भन्थे, कहिले विराटनगर । कहिले पत्रिका चलाउँछु भन्थे कहिले के ?

उनलाई प्रज्ञा प्रतिष्ठानका एक जना प्राविधिकले ट्रकमा हालेर थानकोटबाट कटाइ दिउँला भनेको कुरा उनी दुःखका साथ मलाई सुनाइरहन्थे । 

यसपालि उनी मेरो अन्तर्वार्ता लिन आएका थिए, छयालीस सालको जनआन्दोलनको उभार थियो, सुनिलको फ्रस्ट्रेशन अहिले आफ्नो कोलममा देखिन्थ्यो । 

मैले सामाजिक हिंसा, सम लैङ्गिकताको समस्या, नेपाली नाटकमा ब्रेख्तको जस्तो नाटकको अभावका कुरा गरेँ, त्यो छापियो देशान्तर साप्ताहिको उनको स्तम्भ सूत्रधारमा । 

नेपालमा टेलिभिजन थियो तर टीभी सिरियल राम्रा थिएनन् । नेपालमा सिनेमा बन्थे, बजार राम्रो थिएन । 

एकदिन सुनिलले मलाई ब्रेख्तको नाटक बोकेर भेट्न आए र भने– प्रकाश, काठमाण्डौमा तिम्रो राम्रो जान पहिचान छ, यो नाटक काठमाण्डौ चोकचोक र डबलीमा गर्नुपर्‍याे, तिमीले मलाई फुल्ली हेल्प गर न यार । 

सुनिल मेरो साथीमात्र होइन, सहपाठी पनि हो । ऊ र म प्रज्ञा प्रतिष्ठानको कलाकार प्रशिक्षणको परियोजनामा सँगैसँगै थियौँ तर ऊ एक वर्षअघि पास आउट भएर गइसकेको थियो । 

दिल्लीको एनएसडीमा परीक्षा दिएर आएपछि बद्री जी (अधिकारी) र उसलाई मैले मरुढोकाको सुलक्षणाको पसलमा माल्पुवा र चिया खाँदै गर्दा भेटेर सोधेको थिएँ, के भयो एनएसडीमा ? काफ्का पात्र जस्ता लाग्ने ती दुवै मेरो प्रश्नले त्रसित भए । 

मलाई लाग्थ्यो , दिल्ली जाने आइडिया बद्रीजीकै थियो तर बद्रीजी फेल भए सायद । त्यसपछि उनी नाचघरका जागिरे कलाकार हुँदै जीवन रेखा चलचित्रमा कलाकारको रुपमा प्रवेश भए । 

सुनिल फिल्मबाट फालिएका थिए, त्यसपछि सुनिलले चेतन कार्कीको फिल्म विश्वासमा कोसिस गरे, उनी त्यहाँबाट पनि फालिए  । पछि उनी आफ्नो पहिलो प्रेम थिएटरमै अडे । 

सुनिलले ब्रेख्तको सेँचुआको असल मान्छे गर्छु भनेपछि मैले उसलाई लिएर काठमाण्डौ गल्ली गल्ली घुमेँ । 

असनका मेरा साथीहरु यज्ञरत्न तुलाधर, चरण प्रधान, शीलरत्न तुलाधरले खुब सघाए । नेपाल भाषाका कवि नाति बज्रले आफ्नो टोल दुगँबहिलमा मञ्चन गर्ने व्यवस्था मिलाइदिए भने ईनापका सम्पादक मल्ल के सुन्दरले थायमरुमा मञ्च दिए । 

काठमाण्डौ सर्वत्र यो नाटक मञ्चन भयो तर म रिहर्सलमा बाहेक मञ्चमा भइँन । यो मैले सुनीललाई भरपूर सहयोग गरेको एउटा विशेष नाटक थियो, मेरो पहिलो प्रेमिकाको ब्रेख्त अब्शेसनका कारण । 

यो सकियो त्यसपछि । 

त्यसपछि सुनीलसँग आरोहण शनिबारका निम्ति मैले मोहन राकेशको असारका एक दिन र ज्याँ पल सात्र्रको मैन विदाऊद स्याडोज् पनि अनुवाद गरेँ, दुवै पाण्डुलिपि अझै मसित सुरक्षित छ।

सात्रको मैन विदाऊद स्याडोज् मैले मुम्बईबाट ल्याएको थिएँ, यसको नेपालीकरण भएर मञ्चमा आउँदा विना चिहानको मृत्यु भएर प्रस्तुत भयो । खोइ ! के कारणले हो यसको अनुवादमा सुनीलले मेरो नाउँ दिन चाहेन । आएन पनि । तर उसले मलाई एउटा रोल गर न दिल्लीमा देखाउन जाँदा घुम्न जान पाइन्छ भने । 

भ्रमणको लोभले भारी बाेक्ने एउटा रोल भए पनि गरौँ कि भन्ने पनि लाग्यो तर गरिनँ किनकि मेरो अभिनय गर्ने भोक पहिलो प्रेमसँगै सेलाइसकेको थियो । 

अभिनय गर्ने शौखमा एक पटक म र मेरा मित्र ध्रुव श्रेष्ठको सहयोगमा एउटा सभामा पुगेँ । 

त्यहाँ कैलाश कार्की, हरी रोका जस्ता साथीहरु भेट भए जहाँ नाटक मञ्चन गर्ने कामका लागि बोलाइएको थियो, त्यहाँ हामी पुग्दा एक जना वृद्ध पुरुषले सबैलाई शपथ खुवाउँदै थियो । म झस्केँ र उठेँ । 

ध्रुवजी यो त पार्टीको शपथ ग्रहण पो रहेछ । 

ध्रुवजीले स्पष्ट भन्नुभयो, फेडरेशनको आज... त्यो सभाबाट म हिँडेपछि मैले ती पात्रहरुलाई अखबारमा बाहेक आजकाल कतै भेटेको छैन । त्यो पनि मेरो रिहर्सल मात्रै  थियो । 

यो सम्पूर्ण रिहर्सलपछि पनि म आजकाल रेष्टुराँमा खाजा वा केही खान जाँदा नुन र खुर्सानी राखिएको डब्बामा पी र एस लेखिएको डब्बा देखिएपछि श्वेतालाई सम्झिन्छु, तिनी भन्ने गर्थिन्, हेर्नोस्, यो पी तपाईँको नाम र एस मेरो नाउँ ।

यो दुई वटा डब्बा जबसम्म रहन्छ, हाम्रो प्रेम अमर छ । रेष्टुराँतिर यस्तो रिहर्सल पनि हामीले धेरै पटक गर्‍याैँ । हामीले प्रेमको रिहर्सल गरेको समय फेसबुक हुँदो हो त हाम्रो प्रोफाइलमा हाम्रो आईडी (पीएस) नै हुन्थ्यो कि ?

(प्रकाश सायमीको फेसबुकबाट)

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रकाश सायमी

सायमी कवि, फिल्मकार तथा समीक्षक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया