प्रधानमन्त्रीले फोन गरेपछि हौसला थपिएको छ

 भदौ १३, २०७७ शनिबार ९:३५:१९ | दिलिप भण्डारी
unn.prixa.net

तीजको दिन थियो, कोरोनाको कहरका कारण यस पटक गाउँघरमा चहलपहल पनि शून्य । म पनि भाइसँगै बसेर गफिंदै थिएँ । बेलाबेला मोबाइलमा घण्टी बजिरहन्छ ।

करिब तीन बजेको समय हुँदो हो, मोबाइलमा घण्टी बज्यो । अनि फोन उठाएर हेलो भनें । उताबाट भण्डारी जी हो भनेर सोध्नुभयो । मैले हजुर भनें । त्यसपछि उहाँले तपाईंको कामको कसरी प्रचारप्रसार गराउने भनेर सोचिरहेको छु भन्नुभयो । त्यसपछि मैले को रहेछ मलाई सहयोग गर्छु भन्ने भनेर अचम्म लाग्यो । हजुर को बोल्नु भएको हो र भनेर सोधें । उताबाट उहाँले म प्रधानमन्त्री बोलेको हो भनेर भनेपछि म झसङ्ग भएँ !

त्यसपछि के भन्ने के नभन्ने भनेर नारायणम् सर नारायणम् भनें । त्यसपछि उहाँले पनि नारायणम् भन्नुभयो र मैले गरेको कामबारे जिज्ञासा राख्नुभयो । मैले पनि आफ्नो कुरा बताउँदै गएँ । करिब उहाँसँग तीन मिनेट जति कुराकानी गरेपछि पुनः नारायणम् भन्दै कुराकानी सकियो । 

 उत्प्रेरणासँगै आशा पनि पलाएको छ   

मैले डिभिजन वन कार्यालय गुल्मीको सहयोगमा गाउँमा रेसुंगा एग्रो रिसर्च फर्म खोलेको छु । ५/६ वर्ष भैसक्यो । सुरुमा अगरउडको नर्सरी स्थापना गरेर यस क्षेत्रमा काम गर्दै आएको छु । त्यससँगै रुद्राक्ष, श्रीखण्ड र बोधिचित्त लगायतका महँगो मूल्य पर्ने काठ र जडिबुटी उत्पादनमा लागेको हुँ ।

काम गर्दैै जाँदा १०/१५ वर्षसम्म एकदिन न एकदिन मेरो कामको महत्व बढ्दै जाला भन्ने मनमा सोचेको थिएँ । तर ५/६ वर्षको अवधिमै देशकै कार्यकारी प्रमुखले यसरी फोन नै गर्नुहोला भनेर सपनामा पनि सोचेको थिईनँ । 

प्रधानमन्त्रीले म जस्तो एउटा सामान्य किसानलाई मैले सुरु गरेको कामप्रति प्रभावित बनेर हौसला प्रदान गर्नु मेरा लागि त्योभन्दा बढी खुसी के पो हुन सक्छ र ! उहाँले फोन गरेपछि मेरो मनमा थप हौसला थपिएको छ । उहाँले काठमाण्डौ आएर मलाई भेट्नु पनि भन्नु भएको छ ।

मैले मेरो समस्याकोबारेमा पनि उहाँलाई बताएको छु । केही सहयोग गर्ने आश्वासन समेत दिनु भएको छ । एउटा सामान्य व्यक्तिलाई प्रधानमन्त्री जस्तो व्यक्तिले समय दिएर आफैंले सिधै एक कल फोन गर्दा पनि मनमा उर्जा पलाउँदो रहेछ । 

प्रधानमन्त्रीको फोन आयो भन्दा टिकटक बनाएको भने

सुरुमा नेपाल अपडेट नामक यूट्युव च्यानलबाट मेरो अन्तर्वार्ता प्रशारण भएको थियो । त्यसपछि धेरैले मैले गरेको कामप्रति चासो दिएर जिज्ञासा राख्नुभयो । कतिपयले मेरो कुरामा विश्वास पनि गरेनन् होला । नेपालको बजारमा यसको माग छैन, त्यसैले विदेशमा यो उत्पादनलाई बिक्री गर्ने व्यवस्था मिलाउन सकियो भने यसको महत्व पनि झनै बढ्दै जानेछ ।

प्रधानमन्त्रीले फोन गरेको थाहा पाएपछि धेरै ठाउँहरुबाट बधाई आउन थालेको छ । प्रधानमन्त्रीले फोन गरेर बधाई दिनु भयो र भेट्न बोलाउनु भएको छ भन्दा धेरैलाई अझै पनि पत्यार लागेको छैन । कतिपयले त टिकटक बनाएको हो भनेर पनि भन्दैछन् ।

‘प्रधानमन्त्रीले कहाँ फोन गर्छन् त्यसरी’ भनेर पनि भन्दैछन् । कतिपयले कसैकसैले क्यारिकेचर गरेर जिस्काएको पनि भन्दैछन् ।  ‘काम नपाएर व्यक्ति व्यक्तिलाई फोन गर्दै बस्ने फुर्सद हुन्छ होला अब प्रधानमन्त्रीलाई ?’  भनेर भन्ने गर्छन् । सायद एउटा सामान्य व्यक्तिलाई प्रधानमन्त्रीको फोन आयो भन्दा विश्वास नलागेर पनि हुन सक्छ ।  

(भण्डारीसँग गुल्मीका उज्यालो सहकर्मी जनार्दन घिमिरेले गर्नुभएको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया