महाधिवेशन निजिकिँदै गर्दा कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै

 भदौ २२, २०७७ सोमबार १६:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीको १४ औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको छ । 

सभापति शेरबहादुर देउवाले आफूखुसी पार्टीको विभाग विस्तार गरिरहेको भन्दै इतर पक्षले असन्तुष्टि जनाउँदै आएका छन । महाधिवेशनलाई प्रभावित गर्ने गरी सभापति देउवाले विभाग गठन गरिरहेको उनीहरुको आरोप छ । 

रामचन्द्र पौडेल र सिटौला पक्षका नेताहरुले सभापतिले आफ्नो निर्णय नसच्याए धर्ना दिनेदेखि लिएर आमरण अनसन बस्नेसम्मको चेतावनी दिएका छन । यता देउवा पक्षका नेताहरुले भने विभाग गठन र शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने निर्णय स्वभाविक भएको दाबी गरेका छन् । 

नेता मीन विश्वकर्माले सभापति देउवाले गरेका निर्णयको बचाउ गर्नुभयो । उहाँले विधान अनुसार ६ महिनाभित्र नै पार्टीका विभागलगायत सबै अङ्गलाई विस्तार गर्ने प्रयास गरे पनि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभापतिले सहमति गरौँ भन्दा सहमति पनि नहुने, सहमति नभएपछि निर्णय पनि नहुने, निर्णय नभएपछि पूर्णता कहिले नपाउने, जब पूर्णता नै पाउँदैनन्, सभापति कमजोर हुनुहुन्छ । कमजोर भएपछि १४ औँ महाधिवेशनमा पराजित गर्न सहज हुन्छ भन्ने इतर पक्षका साथीहरुको सोचाइ हो ।’

सभापतिले सर्वसम्मत निर्णय गरौँ भनेर दबाब दिए पनि पौडेल पक्ष सहमतिमा आउन नचाहेको नेता विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वसम्मत निर्णय गरौँ भन्दा सहमति पनि नदिने बहुमतबाट जान्छु भन्दा बहुमतले पार्टी डुबायो भन्ने । देउवाले प्रजातन्त्रको मर्ममाथि आक्रमण गर्‍याे भन्ने साथीहरुले आफ्नो पद, व्यक्तित्व र पृष्ठभूमिलाई गिज्याएको देखिन्छ । नेतृत्वमा पुग्ने लक्ष्य राखेका, गौरवशाली इतिहास भएका साथीहरुले यस्तो टिप्पणी नगरेको नै राम्रो हुन्छ । सभापतिले महाधिवेशनको पूर्वसन्ध्यामा यस्ता टिप्पणीहरुलाई सहज रुपमा लिनुपर्छ ।’

कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले सभापतिले विधान विपरीत गरेका कामको विरोध गर्दा पनि आफ्ना कुरा नसुन्ने गरेको आरोप लगाउनुभयो । पार्टीभित्र सभापतिले मनोमानी गरिरहेको उहाँको भनाइ छ । सभापतिको निर्णय क्षमतामाथि नै प्रश्न उठ्ने गरी विभाग विस्तार गर्ने काम भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न, महाधिवेशन आउँछ, त्यसमा निर्णय गर्नुपर्‍यो । किनकि अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो नौ  महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो, भोटका लागि । भोलि महाधिवेशन आउँदैछ, त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको सङ्ख्या दिन प्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेर पनि भनेका छौँ ।’

सभापति देउवा विधानविपरीत अगाडि बढेको निष्कर्ष निकाल्दै पौडेल समूहले चरणबद्ध आन्दोलनको तयारी गरेको छ । विधानविपरीत भनिएका पछिल्ला निर्णयहरु फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउनेदेखि आमरण अनसन बस्नेसम्मका दबाबमूलक कार्यक्रम गर्ने तयारी पौडेल समूहको छ । कांग्रेसको विधानतः चार वर्षको कार्यकाल सकिएपछि तदर्थ समितिमा रुपान्तरण भएपछि सभापति देउवाले संगठन विस्तार गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया