६ महिनादेखि टेलिफोन अवरुद्ध, सेवा छैन शुल्क मात्रै

 साउन २४, २०७५ बिहिबार ११:२९:३१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा ६ महिनादेखि टेलिफोन सेवा अवरुद्ध छ ।ल्याण्डलाइन फोन तथा एडिएसएल इन्टरनेट अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

नेपाल टेलिकमले प्रभावकारी नदिए पनि सेवा शुल्क भने लिएको उपभोक्ताको गुनासो छ । फोन तथा इन्टरनेट नै नचले पनि शुल्क भने तिर्नु परेको उनीहरुको गुनासो छ । ‘फोन र इन्टरनेट आउने र जाने टुंगो हुँदैन, काम गर्न निकै समस्या छ’ स्थानीय युवा मेघराज राईले भन्नुभयो– ‘यहाँ फोन र नेट चल्यो भने खुशी मनाउनु पर्ने अवस्था छ ।’

मानेभञ्ज्याङ गाउँपालिकामा टेलिकमको मोबाइल सेवाका अतिरिक्त एडिएसएलका ३६ र ल्याण्डलाइन (पिएसटिएन) का ८६ उपभोक्ता छन् । मोबाइल सेवा समेत प्रभावकारी छैन । ‘टावर कतिखेर आएर कतिबेला जान्छ पत्तै हुँदैन कुरा गर्दा गर्दै टुंग्याउन समेत पाइदैन’ गाउँपालिकाका अध्यक्ष मोतिराज राईले भन्नुभयो ।

टेलिफोन र इन्टरनेट नभएपछि बैंकिङ कारोबारमा समेत समस्या भएको छ । रकम भूक्तानी, भूकम्प पीडितको अनुदान वितरणलगायतका काम समेत प्रभावित भएको छ । 

बत्तीको कारण देखाउँदै टेलिकमको सेवा निरन्तर प्रभावित हुँदा मानेभञ्ज्याङ गाउँपालिकामा रहेका सरकारी कार्यालय तथा स्थानीय समस्यामा परेका छन् । ल्याण्डलाइन र इन्टरनेट सेवा प्रभावित भएकै कारण राष्ट्रिय वाणिज्य बैंकको मानेभञ्ज्याङ शाखाले भिस्याट र वेव सर्भर सिस्टमबाट ३० हजार रुपैयाँभन्दा बढी खर्चिएर इन्टरनेट चलाइरहेको छ ।

यो सिस्टम पनि भनेजस्तो राम्रो चलेको छैन, बैंकका नगद इञ्चार्ज चम्पक कोइरालाले भन्नुभयो– टेलिकमको ल्याण्डलाइन र इन्टरनेटले काम नगर्दा सेवा दिन समेत समस्या भइरहेको छ ।

टेलिकमद्वारा सञ्चालित बीटीएस टावरले काम नगर्दा मानेभञ्ज्याङ गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । मोबाइलको नेटवर्क आउने जाने हुँदा यहाँका मोबाइल प्रयोगकर्ताहरु टेलिकमप्रति आक्रोशित बनेका छन् ।

नेपाल टेलिकम ओखलढुंगाका प्रमुख राजकिशोर शाहले स्थानीय तहमा रहेको लघुजलविद्युत नदिएको र सोलारबाट मात्रै उपकरण सञ्चालन नहुने हुँदा यस्तो अवस्था आएको प्रतिक्रिया दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया