कर्मचारीले घरबाट निस्कँदा, काम गर्दा र घर फर्कंदा यी कुरामा ख्याल गरौँ

 असोज ७, २०७७ बुधबार ११:३१:३४ | डा. वासुदेव पाण्डे
unn.prixa.net

काठमाण्डाै - लकडाउन र निषेधाज्ञा हटेसँगै चहलपहल बढेको छ । कार्यालयमा नियमित काम हुन थालेको छ । यातायात, मालपोत लगायत भीड बढी हुने कार्यालयमा झन् बढी चहलपहल देखिन्छ । यस्तो बेला कोरोना सङ्क्रमण झन् बढ्ने भएकाले कर्मचारीले आफू पनि बच्न र अरुलाई पनि बचाउन विशेष ख्याल गर्नुपर्छ ।

घरबाट निस्कँदा, कार्यालयमा काम गर्दा र घर फर्कँदा पनि उत्तिकै होसियारी हुनुपर्छ । अरुबाट आफूमा सङ्क्रमण नसरोस् र आफ्नो कारणले अरुलाई नसरोस् भन्नका लागि सावधानी अपनाउनुपर्छ । सबैभन्दा पहिले घरबाट निस्केपछिका कुरा गरौँ।

घरबाट कार्यालय पुग्नका लागि मुख्य रुपमा दुई वटा कुराको तयारी गर्नुपर्छ । त्यो भनेको सानै भए पनि स्यानिटाइजर साथमा राख्ने र राम्रोसँग मास्क लगाउने हो । कार्यालय जाँदा सकेसम्म आफ्नै सवारीसाधन जस्तै मोटरसाइकल, गाडी तथा साइकलमा जाँदा राम्रो हुन्छ । सार्वजनिक गाडीमा जानु परेमा भीडभाड नहुने गरी जानुपर्छ । 

कार्यालय पुगिसकेपछि हात सफा गर्ने ठाउँ छ भने सफा गर्नुपर्छ । नभए स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।  सरसफाई गरेर मात्र आफ्नो ठाउँमा बस्नुपर्छ । हिजोआज मानिसहरु अरुबेला मास्क लगाउने तर बोल्ने बेलामा भने मास्क खोल्ने गरेका पनि भेटिन्छन् । बोल्ने बेलामा मास्क खोल्दा थुकको छिटाले भाइरस सार्न सक्ने भएकाले कुराकानीको बेला झनै मास्क लगाउनुपर्छ । एक, एक घण्टाको अन्तरमा हात धुनुपर्छ । हातले नाकमुख जहाँसुकै पनि छुन हुँदैन । त्यो कुरामा ध्यान दिनुपर्छ । 

 

काठमाण्डौ उपत्यकामा सङ्क्रमित बढ्दै गएका छन् । सबैभन्दा धेरै जोखिममा सुरक्षाकर्मी छन् । त्यसपछि स्वास्थ्यकर्मी छन् भने तेस्रोमा मालपोतलगायतका सेवा दिने कार्यालयमा काम गर्ने कर्मचारीहरु बढी जोखिममा छन् । त्यसैले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा मालपोत लगायतका सेवा दिने कार्यालयमा काम गर्नेहरुले बढी ध्यान दिनुपर्छ । 

 

कार्यालयमा आलोपालो गरेर काम गर्ने गर्नुपर्छ । भीडभाड गर्न हुँदैन र दूरी कायम गर्नुपर्छ । विशेषगरी सुरक्षाकर्मीले ध्यान दिनुपर्ने हुन्छ । सेवा लिन आउनेहरुले मास्क लगाएको छ या छैन ? दिनदिनै फेरेको छ कि छैन भनेर सोध्ने या ख्याल गर्ने गर्नुपर्छ । स्वास्थ्यकर्मी र अरु मालपोत लगायतमा काम गर्नेले पनि त्यसै गर्नुपर्छ ।

आफूले पनि दूरी कायम गर्ने, समयसमयमा सरसफाई गर्ने र मास्क लगाएर मात्रै काम गर्ने गरेमा कोरोना सर्ने सम्भावना कम हुन्छ । कार्यालयमा काम गरेर घर फर्किंदा पनि विशेष ध्यान दिनुपर्छ । मुख्य कुरा रोग घरमा पुर्याउन हुँदैन । सावधानी नपनाउँदा रोग घरमा भित्रिन सक्छ । घरमा पाका व्यक्ति, बालबालिका, रोगी वा गर्भवती हुन सक्छन् ।

त्यसैले पनि सावधानीका उपाय अपनाउनु जरुरी हुन्छ । घरमा फर्कँदा सार्वजनिक गाडीमा चढेको छ भने दूरी कायम गर्ने,  स्यानिटाइजर प्रयोग गर्ने र  मास्क लगाउनै पर्छ । । घरमा पुगेपछि पनि बाहिरै राम्रोसँग हात धुने, लगाएको कपडा सकेसम्म दिनदिनै धुने गर्नुपर्छ । घरमा अरुलाई सुरक्षित राख्नका लागि प्रयास गर्नुपर्छ । 

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख एवं भाइरोलोजिस्ट डा. पाण्डेसँग कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. वासुदेव पाण्डे

डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया