सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको उद्घाटन सम्पन्न

 असोज १७, २०७७ शनिबार १५:२९:२ | विमल बिष्ट
unn.prixa.net

डोटी - पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नु भएको छ । 

मन्त्री भट्टराईले कालोपत्रेसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलहरुको उद्घाटन गर्नु भएको हो । 

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीय स्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलहरुमा नियमित रुपमा जहाज सञ्चालन गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, 'यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमित रुपमा जहाज चलाउने छौँ । यसमा स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।'

मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले विमानस्थलहरुको टर्मिनल भवन तथा एटीसी भवनहरु नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको जानकारी दिनुभयो । उहाँले यात्रु अभावका कारण देखाएर लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलहरुको थप स्तरोन्नती गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

साथै ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्यन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने उहाँले बताउनुभयो । 

कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमित रुपमा जहाज सञ्चालन हुनुुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया